वर्षाले विथोल्यो बनेपा महोत्सवको रौनक

बनेपा । बनेपा ब्वाइज क्लब (बिबिसी) ले आयोजना गरेको बनेपा महोत्सव वर्षाले बिथोलिएको छ । बनेपा नगरपालिका वडा नं.७ उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव २०८१ सभ्य एवं भव्य रुपमा सञ्चालन भइरहेको थियो । असोज ४ गते देखि आयोजना भइरहेको महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गइरहेको भएपनि लगातारको वर्षाले महोत्सवलाई हानी पुगेको आयोजक संस्था बिबिसी क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिए । अविरल वर्षाले महोत्सवमा राखिएका स्टलहरु बन्द गरिएको छ ।

महोत्सबमा १०० भन्दा बढी ब्यापारिक स्टलहरु राखिएको थियो । जसमा देशका विभिन्न क्षेत्रबाट कृषि उपज, विभिन्न फलफूलका बिरुवा, रैथाने प्रजातिका विभिन्न उत्पादनहरुसँगै दशैंका लागि किनमेल गर्न सकिने वस्तुहरु स्टलहरु मेलामा राखिएका थियो । दशैंको अवसरमा सुपथ मूल्यमा सामानहरु किनबेच भइरहेका थिए । महोत्सवमा विभिन्न परिकारका मौलिक खाना, खाजाको मज्जासँगै दैनिक भइरहेका खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरु तत्काललाई स्थगित भएका छन् । असोज १९ गतेसम्म चल्ने महोत्सव भएकाले वर्षा रोकिएसँगै महोत्सव पुरानै गतिमा अगाडि बढ्ने बिबिसी क्लबका अध्यक्ष कर्माचार्यले काभ्रेपोष्टलाई जानकारी दिए ।

महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय चर्चित गायक गायिकाहरुले प्रस्तुति रहने गरेको थियो । साथसाथै मौलिक कला संस्कृतिलाई समेत महोत्सवले प्राथमिकताका साथ स्थान दिएको छ । महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिताहरु समेत संचालन भइरहेका थिए । जसमध्ये कराँते र तेक्वान्दो प्रतियोगिता सम्पन्न भइसकेको छ । फुटबल र महिला भलिबल प्रतियोगिता सम्पन्न हुने क्रममा रहेका छन् । यस्तै धिमेबाजा प्रतियोगिता, गायन र नृत्य प्रतियोगिता पनि महोत्सवमा संचालनमा छन् ।

महोत्सवमा लोकप्रिय गायकहरु राजनराज सिवाकोटी, कर्णराज गिरि, गायिका प्रिती आले, एलिना चौहान, शिव परियार, दुर्गेश थापा ,प्रताप दास, अस्मिता अधिकारी, गायक नमराज ढुंगाना लगायतका थुप्रै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सवको अन्तिम दिनमा विभिन्न विधामा विजयी खेलाडी, नृत्य लगायतका प्रतियोगितामा उत्कृष्टहरुलाई पुरस्कार वितरणको कार्यक्रम रहेको आयोजकले जनाएको छ । बनेपा महोत्सव ऐतिहासिक एवं धार्मिक नगरि बनेपालाई देश विदेशमा परिचित गराउनका साथै स्थानीय कला, संस्कृति, खेल र उत्पादनको उत्थान, प्रवर्धन गर्न सम्बर्धन गर्न आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.