पर्यटकलाई निःशुल्क सम्पदा पासपोर्ट

पनौती । विश्व पर्यटन दिवसको अवसर पारेर पनौती पर्यटन विकास केन्द्रले पनौती सम्पदा पासपोर्ट सञ्चालनमा ल्याएको छ । ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा पर्यटकलाई सहजता प्रदान गर्ने उद्देश्यले सम्पदा पासपोर्ट सञ्चालनमा ल्याएको हो । केन्द्रले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निःशुल्क पासपोर्ट वितरण शुभारम्भ गरेको छ ।

पनौतीका महत्वपुर्ण क्षेत्रहरु, जात्रा, पर्व, सम्पदा, पदमार्ग नक्सा सहितको पासपोर्ट सुरुवात गरिएको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री तिर्थ बहादुर लामाले पनौती संस्कृति, सम्पदा र जात्रापर्वले धनी रहेको र विश्वभर चिनाउन सक्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख रामशरण भण्डारीले पनौतीमा पर्यटनको सम्भावना धेरै रहेको र नगरपालिकाले पनौती पर्यटन विकास केन्द्रसँग सहकार्य गरि कामहरु गर्दै जाने जानकारी दिनुभयो ।

पनौती पर्यटन विकास केन्द्रले सम्पदा क्षेत्रमा रंगरोगान, पर्यटकको लागि निःशुल्क गाडी सञ्चालन, स्थानीयलाई सुकुल बनाउने तालिम लगायतका कार्यक्रमहरु आगामी दिनमा गर्दै लाने अध्यक्ष कर्माचार्यले जानकारी दिए । पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि सम्पदा पासपोर्ट महत्वपुर्ण हुने विश्वास लिइएको छ ।

विश्वसम्पदा सुचीमा सुचिकृतका लागि पनौती क्षेत्र नेपाल सरकार समक्ष प्रस्तावित भइसकेको छ । पनौतीमा अवस्थित प्राचिन सम्पदाहरुको विवरण सहितको नामाकरण रहेको सम्पदा पासपोर्टमा यस क्षेत्रको इतिहास उजागरमा सहयोग पुग्ने बताइएको छ । सम्पदा पासपोर्टमा पनौतीको बारेमा छोटो विवरण सहित धार्मिक, ऐतिहासिक क्षेत्र, जात्रा पर्व बारे उल्लेख गरिएको छ । पासपोर्ट मायाको चिनोका रुपमा दिइने जनाइएको छ । युरोपका पुराना सहर, इटाली, फ्रान्स लगायतका देशमा यस्तो प्रणाली लागु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.