केयुमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन

धुलिखेल । काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन भइरहेको छ । बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (मेलो)को संयुक्त आयोजनामा २५औं अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन भएको हो ।

सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के–कस्ता प्रभाव पार्छन् भन्ने लगायतका विषयमा छलफल हुने काठमाडौं विश्वविद्यालयका स्कुल अफ एडुकेसनका एसोसिएट डिन प्राध्यापक हेमराज काफ्लेले जानकारी दिए । प्राध्यापक काफ्लेका अनुसार यस प्रकारको अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको बताए । सम्मेलनमा करिब ८० राष्ट्र र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहेका छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत गर्ने बताइएको छ ।

सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेटिएका छन । सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूहले कार्यपत्र प्रस्तुत गरेका छन् ।

वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन–बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप–शिर्षकहरूमा अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गरिएको छ ।

‘मेलो अन्तर्राष्ट्रिय सम्मेलनले देश–विदेशमा रहेका विद्वानहरूलाई छलफलमा समेटेर नयाँ प्रवृत्तिहरूबीच देखापर्ने बौद्धिक जिज्ञासा, अन्तरक्रिया र बहसको संस्कृति विकास गर्दै विद्यमान विचारधारा र साहित्यिक सिद्धान्तहरूको दायरालाई मजबुत बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.