विद्यार्थीहरुको निःशुल्क आँखा जाँच

पनौती । पनौती नगरपालिकाले विद्यार्थीहरुको लागि निःशुल्क आँखा जाँच शिविर सुरु गरेको छ । पनौती नगरपालिका वडा नं. ७ स्थित पुण्य माध्यमिक विद्यालयबाट निःशुल्क आँखा जाँच शिविरको सुरुवात गरिएको हो ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले एक कार्यक्रमबीच निःशुल्क आँखा जाँच शिविरको शुभारम्भ गर्नुभएको हो । शिविर रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

पनौती नगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण हुने बताइएको छ । विद्यार्थीको आँखा परीक्षण पश्चात आवश्यकताको आधारमा चस्मा समेत वितरण गरिने नगरप्रमुख भण्डारीले बताउनुभयो ।

शिविरमा प्राविधिक डाक्टर सहित रेयुकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्मा, नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनक के.सी., स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका २ सय १४ विद्यार्थीको आँखा परीक्षण गरिएको थियो जसमध्ये १६ जना विद्यार्थीहरुमा आँखाको समस्या रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख के.सी.ले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.