सरकारका सय दिन र जनअपेक्षा

संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख शीर्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सहमति भइ सरकार गठनका भएको सय दिन पूरा भएको छ । संसदीय इतिहासमै कमजोर प्रतिपक्ष रहने गरि दुई ठुला दलबिच समीकरणको सहमति भएपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली गत असार ३० मा मुलुकको ४५ औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सय दिन पूरा भएको छ । मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नकै लागि समीकरण भए अनुरूप गठित सरकारले सय दिनको अवधिमै लक्ष्यको ७० प्रतिशत काम सम्पन्न गर्न सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका सामु स्पष्ट पार्नुभएको छ । भलै सरकारी रेकर्डमा सफलताको चाङ देखिएको भएता पनि आम सर्वसाधारण जनताले भने प्रधानमन्त्री ओलीको सफलताको कथालाई आत्मसात र अनुभुति गर्न सकेका छैनन् ।

प्रतिकूल परिस्थितिबिच पनि सरकारले प्राप्त गरेको उपलब्धि मुलुकको समृद्धितर्फको यात्रामा आधारविन्दु भएको अनुभूति सरकारलाई त भएको छ तर त्यसको अनुभूति आम जनताले गर्न सकेका छैनन् । मुलुकको विकास र समृद्धिका साथै संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता कायम गर्नेतर्फ सरकार उन्मुख रहेको अभिव्यक्ति सरकारको तर्फबाट आइरहदा आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरता कायम राख्न सरकार अलमलिएको हो कि भन्ने आभाष हुनथालेको छ ।

प्रधानमन्त्री ओलीले सत्ताको बागडोर सम्हाल्दै गर्दा प्रतिनिधि सभासमक्ष सरकारका पाँच प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सरकार फेरिनासाथ अघिल्लो सरकारले थालेका कामलाई ओझेलमा पार्ने प्रवृत्ति अन्त्य गर्दै थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको स्पष्ट गर्नुभएको थियो । सोही अनुरूप जुनसुकै कालखण्डमा गरिएका भ्रष्टाचार भए पनि दोषीमाथि कारबाही हुने स्पष्टता आफ्नो सय दिने प्रगतिमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको १ सय दिने सरकारका उपलब्धि र प्राथमिकता आम सर्वसाधारण जनताले अनुभुति गर्ने हुनुपर्ने थियो । मुलुकमा आएको भीषण वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिका कारण उद्धार, राहत र पुनर्स्थापना ढिलो गरि ध्यान गयो । सरकारसंग स्रोत र साधन हुँदाहुँदै पनि छिटोछरितो सेवा प्रवाह हुन सकेन । तथापि चाडबाडको मुखमा अवरुद्ध सडक तत्काल खुलाएर आवागमन सञ्चालन गर्न सरकार सफल देखियो ।

दुई ठुला दल कांग्रेस एमालेको समीकरणमा बनेको बलियो सरकारले आमनागरिकको अपेक्षा, जनभावनाभन्दा माथि उठेर सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, कृषिमा उल्लेख्य काम गरेर देखाउन सक्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.