धुलिखेलमा विश्व युवा महोत्सव हुँदै, तयारी तीव्र
धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले खेलकुद, सांस्कृतिक र बहस अन्तर्क्रिया सहित विश्व युवा महोत्सव यही चैत १४ देखि १८ गतेसम्म आयोजना गर्ने भएको छ । महोत्सव धुलिखेल स्थित काठमाडौं विश्वविद्यालय प्राङ्गणमा हुनेछ ।
यसै विषयमा जानकारी गराउन र महोत्सवलाई भव्य बनाउन जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लामा सक्रिय सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दीपक कुमार गौतमले जिससको संलग्नतामा नेपाल विश्व युवा फेस्टिभल २०२५ तयारी तीव्र पारिएको जानकारी दिए। यही २०२५ मार्च २७ गतेदेखि ३१ गतेसम्म आयोजना हुने कार्यक्रममा विश्वभरका १० हजार युवाको प्रत्यक्ष सहभागिता रहने बताइएको छ ।
अङ्ग्रेजी चैत महिनामा हुने विश्व युवा सम्मेलन २०२५ को पुर्व सन्ध्यामा जानकारी मूलक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागिताको लागि ५ दिनको ७ हजार ५ शुल्क तोकिएको छ ।
पूर्व दर्ता नभएको खण्डमा भने १० हजार रुपैयाँ नगद बुझाएर कार्यक्रममा सहभागि हुन सकिने जिसस प्रमुख गौतमले जानकारी दिए । दर्ताको लागि विश्व युवा महोत्सवको आधिकारिक वेभसाइट wyf2025nepal.com मा गएर दर्ता गर्न सकिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष विनोद कुमार न्यौपानेले विश्व युवा सम्मेलन जस्तो नेपालको गरिमा बढ्ने कार्यक्रममा जिसस काभ्रेले नेतृत्व गरेकोमा सञ्चार क्षेत्र सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
महोत्सवको पूर्वसन्ध्यामा ‘ए’ डिभिजन फुटबल, फुटसल, महिला भलिबल र डिजिटल कविता प्रतियोगिता समेत आयोजना गरिएको छ । अन्तर विद्यालय र खुला फुटसल प्रतियोगिता छुट्टाछुट्टै हुनेछन् । खुल्ला फुटबलमा विजयी टिमले ५ लाख नगद प्राप्त गर्नेछ भने अन्तर विद्यालय फुटसल प्रतियोगितामा विजयी टिमले १ लाख रुपैयाँ नगद पाउनेछ ।
जिल्ला समन्वय समिति काभ्रेले यसअघि १० हजारभन्दा बढीको सहभागितामा धुलिखेलमा लैंगिक हिंसाविरुद्धको अभियान, २ हजारभन्दा बढी खेलाडी सहभागी गराएर जिल्ला व्यापि खेलकुद महोत्सव र बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव सम्पन्न गरिसकेको छ ।