अटिजम प्रभावित परिवारलाई राज्यले हेरेको छ भन्ने सन्देश दिने काम गर्दै जान्छौँ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अटिजम भएका बालबालिका लक्षित कार्यक्रम सरकारले गर्दै जाने प्रतिबद्धता जनाएका छन् । एन.अटिजम केयर फाउण्डेशन वालुवाटार, काठमाडौंको आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर ४ चण्डोलस्थित विशाल मिलन केन्द्र्रमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी आर्थिक वर्षदेखि यस्ता कार्यक्रम बजेटमै समेटेर काम सुरु गर्ने बताएका हुन् ।
‘नीति नियमले समेटेर राज्यले अटिजम प्रभावित परिवारलाई हेरेको छ भन्ने सन्देश दिन सक्दो काम गर्दै जान्छौ, स्वास्थ्यमन्त्री पौडेलले भने— सुनाइमा समस्या भएका, संवेदना (सेन्सेसन) नभएका वा थोरै मात्र हुने लगायतका समस्या हुने अटिजम बालबालिकाहरुलाई सम्बोधन गर्ने गरि सरकारले कार्यक्रम अगाडि बढाउने बताए ।
अटिजम भएका बालबालिकालाई हेरचाह गर्न राम्रो आयआर्जन गर्ने परिवारलाई सहज भएतापनि बहुसंख्यक नेपालीहरुलाई कठिन हुने गरेको छ । अटिजम भएका बालबालिका जन्मेमा उसले पनि दुःख पाउने र उसलाई हेरचाह अभिभावकलाई पनि कठिन हुने भएकाले त्यसको निराकरणका लागि पेटको अल्ट्रासाउन्ड गरि पत्ता लगाउने सकिने हुँदा निर्मम भएर त्यसको रोकथाम गर्नुपर्ने प्रस्ताव राखेको मन्त्री पौडलले बताए । यस्तो प्रस्ताव आफूले राख्दा एकदमै आलोचना भएको मन्त्री पौडेलको भनाई थियो ।
देशको विभिन्न अस्पतालमा सिकलसेल एनेमिया वार्ड छुट्टै स्थापना गरि सेवा सुरु गरिएको पौडेलले जानकारी दिए । भेरि, राप्तीमा खोलिसकिएको जानकारी दिँदै पौडेलले सेती, टिकापुर लगायतका क्षेत्रमा पनि यसका लागि काम गर्दै जाने पौडेलले बताए ।
अटिजम भएका बालबालिकाहरुको विद्यालयमा भर्नाको लागि आग्रह गर्नुपर्ने अवस्था रहेको आरम्भ बाल केन्द्रका फाउण्डर डा. अच्युत भण्डारीले बताए । अभिभावकको पीडालाई सम्बोधन गर्दै आफूले बाल केन्द्र स्थापना गरेको जानकारी दिए । विशेष आवश्यकता भएका अटिजम बालबालिकाहरुका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्ने डा. भण्डारीले बताए । उनले अटिजम भएका बालबालिका लक्षित कार्यक्रममा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एभरेष्ट हस्पिटलका डा. सरोज पौडेलले अटिजम पहिचान र उपचारका लागि जनचेतना अत्यावश्यक रहेको औल्याए । अटिजम भएका बालकको पिता हुँदा आफूलाई समेत यस विषयमा बुझ्न कठिन भएकोमा साधारण मान्छेलाई अटिजम स्वीकार गर्न गाह्रो हुने बताए । अटिजम हेरचाह केन्द्र नाफामुखी र सहरकेन्द्रित मात्र हुन नहुने बताउँदै डा. पौडेलले कोभिड समयमा आफ्नो पत्नीले छोरालाई समय दिँदा उसको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको सुनाए ।
अटिजम भएका बालकको बीमा गर्नुपर्ने बताउँदै उनले यस्ता बालकको सोचाई, भोगाइ र देखाई साधारण भन्दा फरक हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीति अनुसन्धान डाइरेक्टर डा. दीपक अधिकारीले बालबालिकासँग संवाद गर्ने, सही संस्कार सिकाउनुपर्ने, कथा लगायतका साहित्यक विषयमा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो । मोबाइल फोन अधिकतम प्रयोगबाट आजका बालबालिकाले सामाजिकीकरणमा पर्याप्त समय नदिँदा उनीहरुको सर्वाङ्गीण विकासमा प्रभाव पार्ने डा. अधिकारीको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीर अस्पतालका न्युरो सर्जन सुशिलमोहन भट्टराईले मस्तिष्क सधैं विकसित भइरहने हुँदा बालबालिकाहरुलाई सामाजिक सिपहरु सिकाउनुपर्नेमा जोड दिए । न्युरो सर्जरीमा अन्य शल्यक्रिया भन्दा मृत्यु बढी हुने भएपनि ८०–८५ प्रतिशत मानिसहरु बाँच्ने गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्पिच थेरापिस्ट तथा अडियोलोजिस्ट डा. विद्वान भुषालले यसको जनचेतना देशैभर पु¥याउन आवश्यक रहेको बताए । संस्थाको अध्यक्ष रमिला श्रेष्ठ अटिस्टिक बालकको अभिभावक भएकाले उहाँले आफूले जस्तो अरु अभिभावकले दुःख नपाओस् भनेर संस्था निर्माण गरेर अटिजम बालबालिका केन्द्रित कार्यक्रम सुरु गरेको बताउनु भयो । डा. भुषालले मन्त्रीले १० सदस्यीय समिति गठन गरेर अटिजम पीडित बालबालिका लक्षित कार्यक्रमलाई पालिका लेभलमा कार्यक्रम गर्न सकिएको खण्डमा कार्यक्रम गर्न सकिएमा प्रभावकारी हुने बताए । अहिलेको अवस्थामा अटिजम पहिचान भइसकेको र माग धेरै तर उनीहरु लक्षित कार्यक्रम थोरै भएकोमा यसलाई बढाउँदै लैजानुपर्ने भुषालले बताए । आगामी दिन एन. अटिजम केयर फाउण्डेशनलाई इन्टिच्युट बनाएर लैजाने भुषालले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. समित कतिला श्रेष्ठले नेपालमा अटिजम बालबालिकाको डायग्नोसिस थेरापी गर्न ६ हजारदेखि १२ हजार सम्म लाग्ने जानकारी दिए । उनका अनुसार देशभर अकुपेशनल थेरापिस्ट ७ जना मात्र छन् । अटिजममा काम गर्ने संस्थाहरुलाई एकजुट काम गर्न श्रेष्ठले आग्रह गरेका छन् । कक्षा ८ पास भएकाले अटिजम केयर सम्बन्धी कोर्ष लिन मिल्ने डा. श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीर अस्पतलकी स्पिच कन्सल्टेन्ट एवं असिस्टेन्ट प्रोफेसर डा. क्रान्ति आचार्यले अटिजम समस्या पहिचान गरि निदान र उपचार गर्नुपर्ने बताइन् । उनका अनुसार नेपालमा एनएचपिसी रजिस्टर्ड स्पिच ल्यांग्वेज प्याथोलोजिस्ट (अडियोलोजिस्ट) १०५ जना मात्र भएको बताइन् । उनले अटिजम बिरामी उपचार गर्न सक्षम डाक्टर यसवर्ष १२ जनामात्र उत्पादन भएको तर हजारौँको संख्यामा बिरामी बालबालिकाहरु फेला पर्ने गरेको उनले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षण अस्पताल महाराजगञ्जका प्रमुख डाक्टर कविराज खनालले अहिले अटिजमको ओभर डायग्नोसिस हुने गरेको बताए । बोली र भाषाको समस्या हुने प्रत्येक ३५ जनामा १६ जनामा अटिजम समस्या देखिने गरेको बताए । खेल र संगीतबाट बालबालिकाहरुको विकास हुने बताए । अटिजम हुँदैमा आत्तिनु नपर्ने तर यसलाई सकारात्मक सोचबाट यसको समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष रमिला श्रेष्ठले अटिजम भएका बालबालिकाहरु अरुभन्दा फरक नुहने बताउँदै थेरापीको माध्यमबाट अटिजम भएका बालबालिकाले सहज जीवन प्राप्त गर्न सक्ने बताइन् । यस्ता बच्चाहरुको कमजोरीको सकारात्मक पाटो देखाउने वा पथप्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको सोच्न जरुरी रहेको बताइन् । अभिभावकलाई जनचेतना सबैभन्दा महत्पूर्ण हुने अध्यक्ष श्रेष्ठले बताइन् । उनले सरकारलाई थेरापिस्ट उपलब्ध गराइदिन आग्रह गरिन् । मानसिक रुपमा कमजोर भएमपनि अटिजम भएका बालबालिकाहरु शारीरिक रुपमा सशक्त हुने बताइन् । अटिस्टिक बालक आयुष्मानको आमा समेत रहेकी श्रेष्ठले उपस्थित व्यक्तित्वहरुलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् ।
कार्यक्रममा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेक बहादुर गुभाजु, वीर अस्पतालका डा. जयेन्द्र प्रधानाङ्ग, शिक्षण अस्पताल महाराजगञ्जका प्रमुख डाक्टर कविराज खनाल, आरम्भ बाल केन्द्रका फाउन्डर अशोक भण्डारी, त्रिपुरा सुन्दरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, नेपाल आर्मी स्कुलकी शिक्षिका रञ्जु शाही, समाजसेवी भेषराज नेपाल, सिनियर थेरापिष्ट निलम लामा, फिजियोथेरापिस्ट अस्मिता पोखरेल, विशेष उपस्थिति दीपक अधिकारी, सन्दिप राना, महेश्वरी कुँवर, मिलन भट्ट, अटिजम बालबालिका, उनीहरुका परिवार, पत्रकार लगायत सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष रमिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुदिप घिमिरेले गरेका थिए ।