नेपालमा अटिजम विद्यालय निर्माणार्थ जुबिन नौटियालको लाईभ कन्सर्ट हुँदै
काठमाडौं, नेपाल । एन अटिजम केयर फाउण्डेशनले नेपालमा पहिलो पटक भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्न लागेको छ। यहि फागुन १७ गते (मार्च १, २०२५) काठमाडौंको हायात रिजेन्सी ग्राउन्ड, बौद्धमा भव्य संगीत कन्सर्ट कार्यक्रमको आयोजना हुने संस्थाले जनाएको छ ।
यस विशेष कन्सर्टमा नेपाली चर्चित गायकहरू कुमा सागर र जोन चम्लिङ राई को समेत दमदार प्रस्तुति रहनेछ ।
कन्सर्टको उद्देश्य
यो ऐतिहासिक कन्सर्टको मुख्य उद्देश्य काठमाडौंमा अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्नु हो । संस्थाकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार, संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
अटिजम सचेतना र सहयोगको पहल
एन अटिजम केयर फाउण्डेशनले लामो समयदेखि अटिजम प्रभावित व्यक्तिहरूको हकहितका लागि काम गर्दै आएको छ । यो कन्सर्टबाट संकलित रकम अटिजम स्कुलको पूर्वाधार निर्माण तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि सहायता कार्यक्रम सञ्चालन गर्न खर्च गरिने संस्थाले जनाएको छ।
संस्थाका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यका अनुसार, अटिजमसम्बन्धी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न, पीडित बालबालिकाको समयमै निदान तथा उपचार गरी उनीहरूलाई मानसिक र सामाजिक रूपमा सक्षम बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
टिकट बिक्री र सहकार्य
कन्सर्टका टिकटहरू खल्ती डिजिटल वालेट मार्फत खरिद गर्न सकिनेछ ।
संगीतप्रेमी, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा अटिजम सचेतनामा संलग्न संघ–संस्थाहरूलाई कार्यक्रम सफल बनाउनका निम्ति सहयोग गर्न संस्थाले आग्रह गरेको छ ।