समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष चौलागाईद्वारा राजीनामा
बनेपा। नेकपा एकीकृत समाजवादी दलको शुभेच्छुक समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक अध्यक्ष सन्तोष चौलागाईले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा पत्रमा चौलागाईले लेखेका छन्, “मैले आजकै मितिबाट समाजवादी प्रेस संगठन नेपाल र नेकपा एकीकृत समाजवादीसँगको आवद्धता अन्त्य गरेको छु।”
साथै, उनले संगठनको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला कमिटी सदस्य जस्ता जिम्मेवारीहरूबाट समेत राजीनामा दिएको स्पष्ट पारेका छन्।
प्रेस चौतारीमा सामेल हुँदै चौलागाईको टोली
उनको राजीनामाले नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकको ८ औं महाधिवेशनमा समाजवादी प्रेस संगठनको प्यानल अब प्रेस चौतारी काभ्विरेपलाञ्चोकको विभिन्न जिम्मेवारीमा समेत सहभागि हुने आंकलन गरिएको छ ।
प्रेस चौतारीको महाधिवेशन यही माघ २२ गते (भोलि) हुँदैछ । अधिवेशनमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटा प्रमुख अतिथि रहने प्रेस चौतारी काभ्रेपलाञ्चोकका अध्यक्ष भुवन रायमाझीले जानकारी दिएका छन्।
प्रेस संगठन निर्माण गर्ने मूल नेतृत्व प्रेस चौतारी नेपालसँग एकता प्रक्रिया बढाएपछि चौलागाई र काभ्रेपलाञ्चोक जिल्ला कमिटी पनि त्यस प्रक्रियामा सहभागी भएको हो। यससँगै समाजवादी प्रेस संगठनभित्रको आन्तरिक व्यवस्थापन र राजनीतिक समिकरणमा नयाँ मोड आएको देखिन्छ।
समाजवादी प्रेस संगठनको मूल नेतृत्व चौतारीमा समाहित भएसँगै उक्त घटनाले काभ्रेपलाञ्चोकको मात्र नभई राष्ट्रिय प्रेस संगठनहरूको भूमिकामा पनि केही न केही प्रभाव पारेको छ ।