प्रेस चौतारी काभ्रेको ८ औं अधिवेशन सम्पन्न: तिमल्सिना नेतृत्वको कार्यसमिति सर्वसम्मत
बनेपा । प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाको ८औँ जिल्ला अधिवेशनबाट केदार तिमल्सिना सर्वसम्मत अध्यक्ष नियुक्त भएका छन् । तिमल्सिना नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
बनेपामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध निर्वाचित भए । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा फर्किएका थिए । चौतारीमा नै फर्किएका समाजवादीका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) समावेशी सहसचिव निर्विरोध निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा, कोषाध्यक्षमा मणिराम दाहाल निर्विरोध भए । त्यस्तै सदस्यहरूमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल, लोकवहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्विरोध भएका छन् ।
पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री एमाले पोलिट्व्युरो सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नम्बर २ का सासंद गोकुलप्रसाद बास्कोटाले अधिवेशन उद्धघाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रेस चौतारीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हमला विरुद्ध एउटा साझा र दृढ आवाज उठाउन सकोस् भन्ने कामना गरेका थिए ।
प्रेस चौतारी नेपाल गठनको समयमा नेकपा (एमाले) को जनसंगठनको रुपमा आवद्ध हुने गरि नभएको बताउँदै बास्कोटाले बहुलबादमा आधारित वैज्ञानिक समाजवादमा आधारित भई स्वतन्त्र प्रेसको रुपमा गठन गरिएको बताए ।
पत्रकारहरूको साझा संस्थाको रुपमा रहन सकोस् भन्ने हिसाबले सबैको साझा क्षेत्र भएकाले यसको नाम चौतारी राखिएको बाँस्कोटाले बताएका थिए । प्रेस चौतारी जनसंगठनको रुपमा अनेरास्ववियु, युवासँघ जस्तो रुपमा गठन नभएको जिकिर गरे । बास्कोटाले भने, ‘एक स्वतन्त्र संस्था जसको वैचारिक धारचाहिँ स्पष्ट छ, प्रेस चौतारी त्यही हो ।’
प्रेस चौतारी नेपालको संस्थापक रहेका बाँस्कोटाले ८ औं जिल्ला अधिवेशनको उद्घाटन आफ्नै हातले गर्न पाउँदा खुसी लागेको बताए । आर्थिक रुपले समृद्ध भएपछि मात्र स्वतन्त्र प्रेस रहने बाँस्कोटाको भनाई थियो ।