कात्तिके देउराली समाज कोरियाद्वारा प्रभा मा.वि.लाई स्यानिटरी प्याड सहयोग
![](https://ekavrepost.com/wp-content/themes/theme/assets/img/kavre-post-logo.png)
![](https://ekavrepost.com/wp-content/uploads/2025/02/Untitled-design_20250205_213610_0000.jpg)
चौरीदेउराली । काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नम्बर ६ कात्तिके देउरालीमा अवस्थित प्रभा माध्यमिक विधालय तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण कोरियाले स्यानिटरी प्याड सहयोग गरेको छ ।
विद्यालय प्रांगनमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष उमेश चौलागाई र कोरियन नागरिक किजुन नोनले प्रधानाध्यापक क्षितिज सुब्बामार्फत उक्त विद्यालय तथा क्याम्पसमा अध्यननरत छात्राहरुका लागि निःशुल्क ८ हजार १६० पिस स्यानिटरी प्याड हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौलागाईले दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुले संस्थामार्फत आफ्नो गाँउमा यसअघि पनि विभिन्न सहयोग गरेको चर्चा गर्दै अहिले कोरियाली नागरिक किजुन नोनसहितको सहयोगमा स्यानिटरी प्याड हस्तान्तरण गरिएको बताए । उनले यसपटक कात्तिके देउरालीमा मात्र नभएर चौरीदेउराली गाउँपालिकामा रहेका सबै माध्यमिक विद्यालयहरुमा स्यानिटरी प्याड हस्तान्तरण गरिने बताएका छन ।
विद्यालय र क्याम्पसमा अध्ययनरत २ सय ४ जना छात्राहरुका लागि करिब ५ महिनासम्म पुग्ने गरि स्यानिटरी प्याड सहयोग गरेकोमा समाज प्रति आभार प्रकट गर्दै प्रधानाध्यापक सुब्बाले आगामी दिनमा पनि विद्यालयले यस्ता सहयोग पाउनेमा आशावादी रहेको बताए ।
प्रभा एलुम्नाई एशोसिएसनले संयोजन गरेको कार्यक्रममा एशोसिएसनका अध्यक्ष गोकुल गौतमले आफ्नो धारणा राख्दै प्रभा मा.वि का पूर्व विद्यार्थीहरूको साझा संस्था प्रभा एल्मुनाइ एसोसिएसन प्रभाको सर्वाङ्गीण विकासमा सधैंभरि हातेमालो गर्दै आइरहेको र आउने दिनमा पनि यस क्षेत्रको समग्र विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधीसभाका पूर्व सांसद नविना लामा, चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर राज गिरी,सहायक क्याम्पस प्रमुख तुलसी चौलागाई, पूर्व वडा अध्यक्ष रेशम चौलागाई, शिक्षक, विधालय कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
समाजले यसअघि कात्तिके देउरालीमा निःशुल्क एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै विभिन्न विपदका समयमा सहायता तथा उपचारमा समस्या भोग्दै आएका विपन्न वर्गहरुलाई सहयोग गर्दै आएको छ ।