खस्केको केयुको साख: पारदर्शी, जवाफदेही र उत्तरदायी नेतृत्व माग

बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको समृद्धिमा काठमाडौं विश्वविद्यालयको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षासेवी, सञ्चारकर्मी, व्यवसायी एवं प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सरोकारवालाहरूले काठमाडौं विश्वविद्यालयमा विकृति मौलाउँदै गएको गम्भीर आरोप लगाएका छन् ।

कार्यक्रममा उठेका महत्वपूर्ण विषयहरूको टिपोट गरि एक हप्ताभित्र विश्वविद्यालयमा प्रतिवेदन पेश गरिने नेपाल पत्रकार महासंघ  काभ्रेपलाञ्चोक अध्यक्ष विनोद न्यौपानेले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, शिक्षासेवी, राजनीतिक व्यक्तित्व तथा नागरिक समाजका अगुवाहरूले विश्वविद्यालयमा परिवारवाद, राजनीतिक हस्तक्षेप र अनियमितता हावी भएको बताएका छन् । अनुसन्धान र शैक्षिक सुधारभन्दा प्रशासनिक पक्षमा ध्यान दिँदा विद्यार्थीहरू आकर्षित हुन छाडेको र अहिले विश्वविद्यालयलाई नै विद्यार्थी खोज्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

राजनीतिक हस्तक्षेप र अनियमितताको आरोप

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले विश्वविद्यालयभित्रको विकृति गम्भीर बन्दै गएको बताए। उनले भने, “विश्वविद्यालयले कर्पोरेट कल्चर भित्र्याउन खोज्यो, शैक्षिक स्तर उठाउन भूमिका खेलेको देखिएन ।”

उनले कानुन र नीतिहरूको उल्लंघनकै कारण यस्तो अवस्था आएको दाबी गर्दै अब समस्याको समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताए। विश्वविद्यालयले नातावाद, परिवारवाद पछ्याएको आरोप लगाउँदै बास्कोटाले विश्वविद्यालयले राजनीति शास्त्र पढाउनुपर्ने तर  षड्यन्त्रशास्त्र पढाउन आवश्यक नरहेको बताए ।

विश्वविद्यालयका पदाधिकारीहरूलाई आफ्नो कुरा सुनाउने मात्र नभएर सुधार गर्नका लागि बाध्य बनाउनुपर्ने बाँस्कोटाको भनाई थियो ।

 

शिक्षासेवीहरूका गुनासा

कार्यक्रममा बुद्धिजीवी परिषद काभ्रेका अध्यक्ष एवं शिक्षासेवी केशव थापाले काभ्रेको समृद्धिमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण भए पनि स्थानीय आवश्यकता र सम्भावनाहरूअनुसार अनुसन्धानमा ध्यान नदिएको गुनासो गरे। उनले विश्वविद्यालयको स्वायत्तता जोगाउँदै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए।

प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले स्थापना भएसँगै दिन र आजको शैक्षिक अवस्थालाई मूल्यांकन गर्न आवश्यक रहेको बताए । नेपालमा मेडिकल र इन्जिनियरिङको पढाई महंगो भएकाले अध्ययनका लागि विद्यार्थीहरू विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए। विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवादले दुवै संस्थाको गरिमामा आँच आएको बादेले बताए । नेपालमा महंगो शिक्षा तर रोजगारीका विदेशिनुपर्ने वाध्यताको अन्त्य गर्नुपर्नेमा बादेले जोड दिए । काभ्रेमा स्थापना भएको केयुले कमसेकम १३ स्थानीय तहका विद्यार्थी शिक्षण गर्न सक्नुपर्ने, नि:शुल्क कोटा लक्षित वर्गले नपाएकोले, विद्यार्थी संख्या घट्दै गएकोले विद्यार्थी अभावले आगामी दिनमा विश्वविद्यालय बन्द गर्नुपर्ने स्थितिको निर्माण हुने सक्ने लगायतका विषयहरूमा चर्चा गरेका थिए ।

 

विकृति अन्त्यको माग

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विश्वविद्यालय आफैं सुधारमुखी बन्नुपर्ने बताए। ४३ करोड घाटा देखाउने, तर आर्थिक पारदर्शिता कायम गर्न नसक्ने स्थिति राम्रो संकेत होइन,” उनले भने। परीक्षै नदिएका विद्यार्थी ग्राजुएट हुनेजस्ता घटनाले विश्वविद्यालयको प्रतिष्ठा संकटमा परेको उनको भनाइ छ। विश्वविद्यालयको ऐन र नियमावली परिवर्तन गर्दै विश्वविद्यालयको शैक्षिक र प्रशासनिक रुपमा पुनर्संरचना गर्नुपर्ने ब्याञ्जुले धारणा राखेका छन् ।

विश्वविद्यालहका उपकुलपतिहरूले हिजोको कथा बेचेर आज प्रतिफल लिन खोजेको आरोप विश्वविद्यालका सिनेट सदस्य समेत रहेका नगरप्रमुख व्याञ्जुकोले आरोप लगाएका छन् । विश्वविद्यालका नेतृत्वकर्ता पारदर्शी, जवाफदेही र उत्तरदायी हुँदा मात्र विश्वविद्यालय, समाज र समग्र देशलाई दीर्घकालीन फाइदा हुने ब्याञ्जुको स्पस्टोक्ति छ ।

जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले शैक्षिक संस्थाले निष्पक्ष र पारदर्शी बन्नुपर्नेमा जोड दिए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले विश्वविद्यालयले उत्पादन गरेका स्नातकहरूको अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दै सुधारका उपायहरू खोज्नुपर्ने बताए।

 

स्थानीय तहसँग समन्वय आवश्यक

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विश्वविद्यालयले सम्पूर्ण स्थानीय तहलाई चिन्नुपर्ने र १३ वटै पालिकाका विद्यार्थीलाई अवसर दिनुपर्ने बताए।

नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले केयुले सार्वजनिक र राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गर्दै प्राप्त सुझावलाई कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

नेकपा एमालेका नेता विष्णु धितालले विश्वविद्यालयले सरकारको जल, जमिन, र पर्यटन विकास अभियानसँग समन्वय गर्दै अध्ययन-अनुसन्धान अघि बढाउनुपर्ने बताए। नेपाली कांग्रेसका माधव ढकालले विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त बनाए मात्र गुणस्तर सुधार हुने धारणा राखे।

नेकपा माओवादी केन्द्रका भोला अर्यालले विश्वविद्यालयका नीतिगत निर्णयमा काभ्रेलीको पहुँच नहुनु दुःखद भएको बताए। प्रधानमन्त्री र शिक्षामन्त्री मात्र होइन, आम नागरिकले पनि विश्वविद्यालयका निर्णयहरूमा सहभागी हुने वातावरण बन्नुपर्छ,” उनले भने।

अभिभावकको लगानी र विद्यार्थीको भविष्यमा खेलवाड गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका काभ्रे सभापति प्रविण कुमार ढकालले विश्वविद्यालयमा शैक्षिक योग्यताको आधारमा नेतृत्व आउनुपर्नेमा जोड दिए । काभ्रे कृषि र पर्यटकीय हब भएकाले डाक्टर र इन्जिनियरिङ्ग जनशक्ति मात्र उत्पादन गरेर नहुने बताए । विरामी विश्वविद्यालयमा अब नियुक्त हुने उपकुलपति प्रतिबद्धतासहित आउनुपर्ने ढकालले जोड दिए ।

राप्रपा काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष सहदेव भण्डारीले विश्वविद्यालय अभिभावकको लगानी र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने राजनीतिक स्थल बनाएको आरोप लगाए । काभ्रेमा स्थापना भएपछि यहाँका विद्यार्थीले अध्ययन गर्न सक्ने हुनुपर्ने बताउँदै धनीहरूले मात्र पढ्न पाउने हो भने काभ्रेपलाञ्चोक जिल्लामा स्थापनाको तुक नभएको बताए ।

विश्वविद्यालयलाई सुधारको आगामी कार्यदिशा

काठमाडौं विश्वविद्यालयमा देखिएको अनियमितता, नातावाद र राजनीतिक हस्तक्षेप अन्त्य गर्न आवश्यक देखिन्छ। विश्वविद्यालयको साख जोगाउन पारदर्शिता, नीतिगत सुधार, स्थानीय तहहरूसँगको सहकार्य, र गुणस्तरीय अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। समस्या समाधान गर्न सरोकारवालाहरूको सक्रियता आवश्यक छ। विश्वविद्यालयलाई सुधारको बाटोमा ल्याउन सबै पक्ष गम्भीर बन्नुपर्ने अन्तरक्रिया कार्यक्रमको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *