ससुराको किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै मृत्यु

च्याम्राङवेशी । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङ्गबेसीमा ससुराको निधन भएपछि माइतीघरबाट किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै दुर्घटनामा परेर निधन भएको छ।

 

बेथानचोक गाउँपालिका वडा नम्बर १ का भीमप्रसाद गौतमको शनिबार बिहान घरमै निधन भएको थियो। उनका साहिँली बुहारी मेनुका गौतम माइतीघर मकवानपुर, हेटौंडामा थिइन्। ससुराको किरिया गर्न आइतबार घर फर्किने क्रममा दुर्घटनामा परेर उनको ज्यान गएको हो।

 

मकवानपुरको फापरबारीसम्म सार्वजनिक बसमा यात्रा गरेपछि उनी ललितपुर हुँदै काभ्रे पुग्न जेठाजूका छोरा (भतिजा) को मोटरसाइकलमा सवार भएकी थिइन्। अपराह्न ४ बजेतिर ललितपुरको बागमती गाउँपालिका वडा नं ७, दोर्जलिङमा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार हुँदै गर्दा उनले ओडेको सल बाइकको चेनमा अड्किएपछि उनी सलमा बेरिएर सडकमा खसेकी थिइन्, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

घटनाबारे जानकारी दिँदै महाँकाल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विनोद चौरेलले मृतक मेनुकाको शव घटनास्थलमै रहेको र गिम्दी प्रहरी उपस्थित भइसके पनि नेपाल प्रहरी चापागाउँ वृत्तबाट टोली आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। (पत्रकार नवराज सापकोटाको सहयोगमा निर्मित समाचार सामग्री)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *