भुम्लुमा दलित महिलामाथि कुटपिट, पीडकमाथि हदैसम्मको कारबाही माग


चौबास । भुम्लु गाउँपालिका वडा नं. ४ चौबास स्थित पाक्पा टोलमा बस्ने अति विपन्न दलित महिलामाथि कुटपिट भएको छ । कान्छो सार्कीकी श्रीमती ५७ वर्षिया मसली सार्कीलाई यही फागुन ४ गते दिउँसो ३ः३० बजेको समयमा कुटपिट भएको हो । स्थानीय चौबास बजार, बिष्णु प्रसाद चौलागाईको सानो टहरो चिया पसल अगाडि सार्वजनिक स्थलमा कुटपिट भएको थियो । मसली सार्कीलाई भुम्लु गाउँपालिका वडा नं. ४ उर्लेनी बस्ने सूर्य बहादुर तामाङको छोरा ४० वर्षिय विजय कुमार तामाङले कुटपिट गरेको पीडित मसली सार्कीका छोरा अम बहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा जाहेरी दिएका छन् ।
मसली सार्की चिया पसलमा जाँदा कसुरदार बिजय कुमार तामाङले पानी छ्यापी त्यस ठाउँबाट हटाउन खोज्दा उक्त विवाद चर्किएको थियो । तत्पश्चात कसुरदार विजय तामाङले मसली सार्कीलाई लात्ती प्रहार गरि घाइते बनाएका थिए । कसुरदारले लात्ती प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गर्दा पीडित घाइते महिला बेलुका बेहोस भएकी थिइन् । भोलिपल्ट पीडितको श्रीमान कान्छो सार्की खोजतलास गर्ने क्रममा सो स्थानमा मसली सार्कीलाई घाइते अवस्थामा फेला पारेका थिए । निजको श्रीमान कान्छो सार्कीले भोलिपल्ट बिहान पीडित सिकिस्त भएको कारण एम्बुलेन्स बोलाएर एम्बुलेन्समा राखी धुलिखेल अस्पताल पुर्याएर उपचार गर्ने क्रममा निज घाइते महिलाको देब्रे पट्टी खुट्टाको गेडी भन्दा मुनि ५÷६ इन्चको हड्डी फुटेको अस्पतालको प्राविधिक रिपोर्टमा देखिएको छ ।
शल्यक्रिया गरी स्टील राख्नु पर्ने भन्ने जानकारी अस्पतालले जनाएको कुरा निजको श्रीमान कान्छो सार्कीले जानकारी दिए । उक्त दलित महिलालाई कुटपिट गरेका तामाङलाई २०८१ फागुन ५ गते प्रहरी चौकीमा बोलाई कुनै कारवाही प्रकृया अगाडि नबढाइ सामान्य कागज गरी छाडी दिएको थियो । यस घटनाको बारेमा वडा कार्यालय का जनप्रतिनिधि भने बेवास्ता गरेको पीडित पक्षले गुनासो गरेका छन् ।
निष्पक्ष सत्य तथ्य छानवीन नगरी स्थानिय वडा, जनप्रतिनिधि र स्थानीय प्रहरी चौकी मुकदर्शक बनेको गुनासो पीडित परिवारले काभ्रेपोष्टसँग गरेको छ । स्थानीय प्रहरीले जाहेरी लिन नमानेपछि पीडित पक्षले आज शनिबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको थियो । घाइतेको सम्पूर्ण उपचार खर्च कुटपीट गर्ने तामाङले व्यहोर्नु पर्ने माग सहित दोषी माथी हदैसम्मको कारवाही माग गरिएको छ ।
पीडक तामाङलाई पीडित पक्षको ठाडो निवेदनको आधारमा शुक्रबार नै पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले काभ्रेपोष्टलाई जानकारी दिए ।