पनौतीका खानी उद्योग सञ्चालनमा रोक


पनौती । खानी तथा ढुंगा उत्खननमा अनियमितता बढ्दै गएको भन्दै पनौती नगरपालिकाले ३ वटा खानी उद्योगको सञ्चालनमा रोक लगाएको छ । खानी उद्योगहरूले खानी तथा भूगर्भ विभागबाट लिएको उत्खनन अनुमति अवधि समाप्त भइसकेपछि पनि सञ्चालन जारी राखेका कारण नगरपालिकाले खानी उद्योग सञ्चालनमा रोक लगाउने निर्णय लिएको हो । बन्द गरिएका खानी उद्योगहरूमा डायमन्ड स्टोन माइनिङ प्रा.लि. (पनौती वडा नं. २), भालेश्वर रोडाढुंगा उद्योग प्रा.लि. (पनौती वडा नं. १२), र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. (पनौती वडा नं. १२) रहेका छन् ।
पुनः अनुमति नलिएसम्म सञ्चालनमा रोक
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीका अनुसार उक्त उद्योगहरूलाई पटक–पटक उत्खनन कार्य रोक्न ताकेता गरिए पनि नियमअनुसार बन्द नगरेकाले कानुनी रूपमा नियन्त्रण गर्न बाध्य हुनुपरेको जानकारी दिनुभयो । नगरपालिकाले अर्को निर्णय नभएसम्मका लागि खानी उद्योगहरू पुनः सञ्चालन गर्न नपाउने स्पष्ट पारेको छ । उनले भने, “नगरपालिकाको आदेशको उल्लङ्घन गर्दै अनुमति सकिएको खानीहरू निरन्तर सञ्चालनमा थिए । यसले वातावरणीय प्रभाव मात्र होइन, कानुनी प्रक्रियाको समेत उल्लङ्घन भएकाले हामीले तत्काल रोक लगाउने कदम चालेका हौं ।”
खानी उद्योगको अनियमिततामाथि निगरानी बढाइने
नगरपालिकाले यो निर्णयसँगै खानी उद्योगहरूको नियमनमा थप कडाइ गरिने बताएको छ । हाल पनौतीका विभिन्न क्षेत्रमा सञ्चालित अन्य खानी तथा रोडाढुंगा उद्योगहरूको अनुमति तथा नियम पालना गरिएको छ वा छैन भन्ने विषयमा पनि अनुगमन तीव्र पार्ने योजना बनाइएको छ ।
स्थानीयवासीहरूका अनुसार अनियन्त्रित खानी उत्खननले भू–स्खलन, जलस्रोतको कमी र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढेकाले नगरपालिकाको निर्णय आवश्यक रहेको बताए ।