बनेपा नगरपालिकाको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

बनेपा । बनेपा नगरपालिकाले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले शाखागत प्रगति प्रस्तुतीकरण गरेका थिए।
नगरप्रमुख शान्तिरत्न शाक्यले चालु आर्थिक वर्षमा अघिल्लो वर्षजस्तो प्रगति हुन नसकेको बताउँदै कामको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिए। हालसम्म जम्मा ३४ प्रतिशत मात्र खर्च भएको उल्लेख गर्दै नगरप्रमुख शाक्यले सबैलाई आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरे। आगामी २-३ महिनामा बजेटको ठूलो हिस्सा खर्च गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरूलाई गम्भीर भएर लाग्न अनुरोध गरे।
उपप्रमुख विमला सापकोटा दाहालले ६०-७० प्रतिशत काम अझै बाँकी रहेको भन्दै सबैलाई ध्यान दिएर कार्य सम्पादन गर्न आग्रह गरिन्। वडास्तरका सम्झौता कार्य शीघ्र सम्पन्न गर्नुपर्ने बताउँदै, ४० सम्झौता अझै बाँकी रहेको जानकारी दिइन्। उनले जेठको अन्त्यमा सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्दै असार १५ गतेभित्र योजना सम्पन्न गरी भुक्तानी प्रक्रियामा लैजान सरोकारवालाहरूलाई निर्देशन दिइन्।
वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापाले समीक्षा गोष्ठी फलदायी रहेको बताए भने वडा नम्बर ७ की वडासदस्य दुर्गा परियारले नगरपालिकाले आयोजना गरेको समीक्षा कार्यक्रमबारे संक्षिप्त मन्तव्य राखिन्।
बजेट खर्च र राजस्व संकलन
आर्थिक प्रशासन शाखा प्रमुख विनोद हुमागाईंका अनुसार आ.व. २०८१/८२ मा विनियोजित कुल १ अर्ब २६ करोड ५५ लाख २६ हजार १ सय ८८ रुपैयाँमध्ये पुस मसान्तसम्म २३.९८ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्चतर्फ ३७.५४ प्रतिशत र पूँजीगत खर्चमा ५.६८ प्रतिशत मात्र प्रगति भएको जानकारी दिए। पछिल्लो दुई महिनामा उल्लेखनीय प्रगति भएको बताउँदै, योजनाबद्ध रूपमा कार्य गरे लक्ष्य अनुसार प्रगति हासिल गर्न सकिने उल्लेख गरे।
राजस्व शाखाले पुस मसान्तसम्म ३८.४१ प्रतिशत राजस्व संकलन भएको जानकारी दियो। घरबहाल कर, पार्किङ शुल्क, शौचालय करमा १५ प्रतिशत प्रगति भएको छ। नगरपालिकामा १,८०५ व्यवसाय सञ्चालनमा रहेकोमा १९६ थपिएर हाल २,००१ पुगेका छन्। साथै, नगरपालिकाले विज्ञापन कर संकलन सुरु गरिसकेको र मनोरञ्जन करको दायरा विस्तार गरिएको जानकारी गराइयो।
शिक्षा, कृषि र योजना प्रगति
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिवराज त्रिपाठीका अनुसार नगरपालिकामा हाल ३९८ शिक्षक दरबन्दी रहेको छ। शिक्षा शाखाको कुल बजेटमध्ये ५०.८८ प्रतिशत खर्च भइसकेको छ भने समग्रमा ४८.५१ प्रतिशत प्रगति भएको छ। निजी विद्यालयमा अध्ययनरत १५१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
कृषि विकास शाखाका प्रमुखका अनुसार विषादी नियन्त्रण, माटो परीक्षण लगायतका उपायहरूबाट उत्पादन र उत्पादकत्वमा १०-१५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ। बनेपा लायकु राजमञ्चमा सञ्चालन हुने हाटबजारबाट मासिक १४-१५ हजार राजस्व उठ्ने गरेको जानकारी दिँदै, कृषकमैत्री व्यवस्थापन आवश्यक रहेको बताए।
योजना तथा प्राविधिक शाखा प्रमुख संगम भुजेलका अनुसार २८७ योजनाहरू कार्यान्वयनमा गइसकेका छन्। १० लाखभन्दा माथिका ठेक्कामार्फत प्रक्रिया अगाडि बढाइएको छ। हालसम्म १७७ नक्सा पास भइसकेको, एमटीएमपी तथा ई-बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) लागू भइसकेको, र १०,००० घरहरूको हाउस नम्बरिङ सम्पन्न गरिने जानकारी दिइन्।
स्वास्थ्य क्षेत्रको प्रगति
स्वास्थ्य शाखा प्रमुख महेश्वर काजी श्रेष्ठले क्षयरोग मुक्त क्षेत्र बनाउन घरदैलो कार्यक्रमअन्तर्गत ४४ क्षयरोगी फेला परेको जानकारी दिए। ७० जना विपन्न रोगीहरूको उपचारका लागि सिफारिस गरिएको, ५१६ जनालाई रेबिज खोप, र ८ जनालाई स्क्रब टाइफस खोप दिइएको जानकारी गराए। स्वास्थ्य शाखाको भौतिक प्रगति ५७.६३ प्रतिशत र वित्तीय प्रगति ३६.१९ प्रतिशत रहेको छ।
नगरपालिकाभित्रका १५ वटै स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न गरिएको, प्रजनन् रोगसम्बन्धी शिविर सञ्चालन गरिएको, र एचपिभी खोप कार्यक्रममा ९८ प्रतिशत उपलब्धि हासिल गरिएको जानकारी दिइयो।
अन्य क्षेत्रहरूका प्रगति
पशुसेवा शाखा प्रमुख पशुचिकित्सक चिरञ्जीवी शर्माले निःशुल्क पशुबीमा कार्यक्रम, कृत्रिम गर्भाधान लगायतका योजनाहरूमा उल्लेखनीय प्रगति भएको बताए।
प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा संयोजक शान्ता कुँवरका अनुसार ३९६ जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ भने ४० जना रोजगारीमा संलग्न भएका छन्। कार्यक्रमअन्तर्गत ७० प्रतिशत महिला सहभागिता रहेको छ।
कानुन शाखाका न्यायिक सहजकर्ता सविता सापकोटाका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका १५ मुद्दामध्ये ३ वटा फर्छ्योट भइसकेका छन् भने १२ वटा विचाराधीन छन्। साधसिमाना विवादहरू प्रमुख समस्या रहेको उल्लेख गरिन्।
मड्या शाखा प्रमुख विकास रम्तेलका अनुसार वडा नम्बर ४, ७, र १० मा स्ल्याब राख्ने कार्य सम्पन्न भइसकेको छ। वडा नम्बर १० मा १९ वटा टोल विकास समितिहरू दर्ता भएका छन्।
बनेपा नगरपालिका राष्ट्रिय स्तरमा अग्रणी
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बनेपा नगरपालिकालाई ७८ अंकसहित नेपालकै उत्कृष्ट नगरपालिकाको पाँचौं सूचीमा राखेको छ।
छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नगरपालिकासँग भगिनी सम्बन्धको २५ औं रजत जयन्ती मनाइएको छ। सामाजिक भत्ता ईएफटी प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाइएको छ। गत असोज १०-१२ गतेको बाढी, पहिरो पीडितमध्ये ३९ प्रतिशतलाई अस्थायी आवास निर्माणका लागि सहायता प्रदान गरिएको छ। नगरमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।
