भो तिमी विदेशको कुरै नगर !


म हराई रहेछु कतै, मन डराइ रहेछु कतै
कतै उहीँ प्रकृति ले नै पो नचिन्ने हो कि
कतै उहीँ बहुलमान डाँडाले नै पो नचिन्ने हो कि
कतै उहीँ डाडाको काफलको बोटले नै पो नचिन्ने हो कि
म हराई रहेछु कतै, मन डराई रहेको छु कतै
म उहीँ डाँडामा बस्थे, चुच्चे ढुङ्गाको आड लाएर
पुराना ती झ्याउरे, घाँसे अनि सेलो गित गाएर
म नियालिरहन्थे टाढाको क्षितिजलाई
कल्पना गर्थे क्षितिज पारीको त्यो बस्तीको
सम्झन्थे कति सुखसंयमा छन ती बस्तीको
सोच्दथे अहिल्यै उडेर गैदि हालुम
उतैको भैदि हालुम
उत्तर तिर हेर्दथे, ठुलो पिलेन उडेर आउँथ्यो
त्यसलाई हेर्दै म पनि सपनाको जाल बुनिरहन्थे
उहीँ क्षितिज पारीको बस्तीमा घुमिरहन्थे
आहा! सपनाको संसार त्यहाँ छ
यहाँ त के छ?
र ————–
नजिकै आएर न्याउली रोइदिन्छे
म झल्यास्स बिउँझिन्छु
कल्पनाको सागरमा डुबेको मेरो मन
न्याउली लाई सोध्न मन लाग्छ,
किन? अन्त रुने ठाउ पाएनौ र
मेरै अगाडि आएर रुनुपर्छ ?
थाहा थिएन मलाई कि मेरै अगाडि आएर किन रोएको।
म ब्युझना साथ रुदै भुर्र उडेर भागिन्।
अहिले म बुझ्दै छु किन रोइन न्याउली।
उनी भन्दै थिइन, क्षितिज पारीको बस्ती कल्पना नगर
त्यो टाढा छ, तिमिले सोचेको भन्दा गाढा छ
तिमी जान्छौ, कहिले फर्कन्छौ थाहा छैन
तिमी अहिले रहिरहेको डाँडा नहुन सक्छ
म नहुन सक्छु, यी काफल को बोट नहुन सक्छ
अनि आएर तिमी कसलाई घासे गीत सुनाउछौ
अनि आएर तिमी कसलाई सेलो सुनाउछौ
तिमी बिदेश को कुरै नगर,
फिक्का हुनेछ यी जंगल, सुनसान हुनेछ यी पाखा पखेरा
तिमी आएर सेलो गाउदा, मेरो बिरह बिसाउने ठाउँ हुन्छ
चिभे चरीको चिरबिर हुन्छ, कोकिल मधुर स्वरमा गाउँछन
मृगशावकहरु नाच्छन, वानरहरु तरुलतिकामा झुण्डिन्छन
तिमी प्रकृति प्रेमी हौ, तिमी आएको जब चाल पाउँछ
बिनाको वासना खोज्न भौतारिरहेको हरिण पनि फर्की आउँछ
भो तिमी बिदेशको कुरै नगर!
भनेर……….भनेकी रहिछिन ती न्याउलीले
राती स्वप्नामा आईन र खुसुक्क भनेर गईन
फेरि झसङ्ग भए म
र फेरि उहीँ पुराना दिन सम्झिए——-
म हराई रहेछु कतै, मन डराई रहेछु कतै
कतै उहीँ प्रकृति ले नै पो नचिन्ने हो कि
कतै उहीँ बहुलमान डाँडाले नै पो नचिन्ने हो कि
कतै उहीँ डाँडाको काफलको बोट ले नै पो नचिन्ने हो कि
म हराइ रहेछु कतै, मन डराइ रहेको छु कतै
र फेरि कल्पनामा नै रहदा
बिरानो देश, बिरानो भेष, बिरानो चालचलन
फर्केर हेर्दा, पुरानो दिन चसक्क भयो मन
चिन्दैनन रे अब ति प्रकृतिले मलाई
चिन्दैनन रे अब बहुलमान डाँडाले
चिन्दैनन रे अब काफलको बोटले
चिन्दैनन रे अब हरिण मृग वानरले
चिन्दैनन रे अब चिभे र कोईलीले
किन?
किनभने,,,,
उफ—–यी सबै छैनन रे अब
पोहोर साल डोजरले बाटो खन्यो अरे
बिकास भयो तर बहुलमान डाँडा भत्क्यो अरे
ठूलो काफलको बोट र चुच्चे ढुङ्गा लड्यो अरे
पोहोर साल जंगलमा ठुलो डढेलो लाग्यो अरे
छिनभर मै हरियो पाखा कालो भयो अरे
चरिको गुड र हरिण मृगको घर छिनभर मै जल्यो अरे
वानर झुन्डिने तरुलतिका पनि सबै जल्यो अरे
बन्यजन्तु सबै बसाइँ सरी गयो अरे
हरियाली प्रकृति जलेर कालो भयो अरे
चिन्दैनन् रे अब यी कसैले मलाई
✍️ तेजकुमार ठाडामगर “सर्गमयात्री”
महाभारत-५, काभ्रेपलान्चोक
हाल प्रवास