डेडीथुम्का माविमा जेठ १५ गते पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुँदै

बनेपा मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ स्थित श्री डेडीथुम्का माध्यमिक विद्यालयमा यही जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन हुने भएको छ । सम्मेलनको तयारीबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। बनेपामा आयोजित कार्यक्रममा सम्मेलन आयोजक मूल समारोह समितिले पत्रकारहरूलाई सम्मेलनको उद्देश्य, स्वरूप र अपेक्षित उपलब्धिहरूबारे विस्तृत जानकारी दिएको हो।

श्री डेडीथुम्का फाउण्डेसनको संयोजनमा आयोजना हुन लागेको सम्मेलनको उद्देश्य विद्यालयका पूर्वविद्यार्थीहरूलाई एकै थलोमा ल्याई शैक्षिक सुधारमा सक्रिय बनाउन र मण्डनदेउपुर नगरको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको छ। विद्यालयले २०३८ सालदेखि एसएलसी परीक्षा सञ्चालन गर्दै आएको इतिहास बोकेको छ। यतिबेला यो विद्यालयका हजारौँ पूर्वविद्यार्थीहरू शिक्षा, स्वास्थ्य, संचार, राजनीति, समाजसेवा, उद्योगलगायत विविध क्षेत्रमा क्रियाशील छन्।

सम्मेलनका मूल संयोजक कश्यपप्रसाद पौडेलका अनुसार यस विद्यालयबाट एसएलसी वा एसईई उत्तीर्ण करिब ४ हजार ५ सय विद्यार्थीलाई समेट्ने लक्ष्य राखिएको छ। सम्मेलनमा सहभागी हुन प्रि–रजिष्ट्रेशन अनिवार्य गरिएको छ । प्रत्येक सहभागीले रु ५०० शुल्क तिर्नुपर्नेछ। सम्मेलनमा २०८१ सालमा एसईई परीक्षा दिएका पूर्व विद्यार्थीहरू सहभागि हुन सक्ने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष टोमप्रसाद सापकोटाले यस सम्मेलनमार्फत विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्दै विद्यालय र नगरको शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने प्रयास गरिने जानकारी दिनुभयो। उहाँले सम्मेलनमा बाल शिक्षा, विद्यालय शिक्षा, प्राविधिक तथा उच्च शिक्षा र जीवनपर्यन्त सिकाइसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने पनि जानकारी गराउनुभयो।

कार्यक्रममा पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिंदै फाउण्डेसनका प्रतिनिधि गोकूल गौतमले पूर्वविद्यार्थीहरूको अनुभव र क्षमतालाई सदुपयोग गर्न सबैलाई सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेसहित विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा महासंघ अध्यक्ष न्यौपानेले सम्मेलनलाई सबैको सहभागिता र सहकार्यमा विवादरहित ढंगले सम्पन्न गर्न सुझाव दिनुभयो । पत्रकार सम्मेलनको सञ्चालन प्रचार उपसमितिका संयोजक यदुनाथ गौतम देउपुरेले गर्नुभएको थियो।

श्री डेडीथुम्का मावि क्षेत्रीय रूपमा मात्र होइन, राष्ट्रिय तहमा समेत जनशक्ति उत्पादन गर्ने शैक्षिक थलोको रूपमा परिचित छ । विगतमा स्थापना भएको एल्मुनाई संस्था निरन्तर सञ्चालनमा आउन नसके पनि २०७४ सालमा डेडीथुम्का फाउण्डेसन गठन भएपछि नियमित रूपमा पूर्वविद्यार्थी भेटघाट, शैक्षिक सामग्री वितरण, समाजसेवा र सांस्कृतिक जगेर्ना लगायतका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

यसै सन्दर्भमा, विद्यालयको विकासमा योगदान पुर्‍याएका अग्रजहरूलाई सम्मान गर्ने, पूर्वविद्यार्थीहरूको क्षमताको पहिचान गरी नवीनतम कार्यक्रम सञ्चालन गर्ने, शैक्षिक सुधारका सन्दर्भमा नगरपालिकालाई सिफारिस गर्ने र यस्ता सम्मेलनहरूलाई निरन्तरता दिने लक्ष्यका साथ यसपटकको सम्मेलन आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन्।

शिक्षा, अनुभव र सहकार्यको यो सम्मेलनले श्री डेडीथुम्का माविको गौरवशाली इतिहासलाई थप समृद्ध बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *