क्रोएसियामा सोनाम ल्होछारको भव्य कार्यक्रम हुँदै

जाग्रेब । क्रोएसियामा रहेका नेपाली समुदायका लागि यस वर्षको सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम— २०८१ हर्षोल्लाषका साथ मनाइने भएको छ। तामाङ समाज क्रोएसियाको आयोजनामा आगामी फेब्रुअरी ९ आइतबार राजधानी जाग्रेबस्थित प्रेच्को २ए (PRECKO 2A) मा यो भव्य कार्यक्रम सम्पन्न हुनेछ।

सोनाम ल्होछार मन्जुश्री संवत २८६१ डुल ल्हो/ सा पुख्री सर्प वर्ग को पावन अवसरमा आयोजना गर्न लागिएको यस सांस्कृतिक कार्यक्रममा नेपाल र प्रवासका ख्यातिप्राप्त कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। विशेषगरी पोर्चुगलबाट चर्चित सेलो गायक कुन्साङ वाईबा र पुष्पा वाईबाको धमाकेदार प्रस्तुति मुख्य आकर्षण हुनेछ भने नेपालबाट समेत कलाकार टोली झिकाउने तयारी भइरहेको छ।

 

तामाङ समुदायको पहिचानलाई प्रवासमा पनि उजागर गर्दै

तामाङ समाज क्रोएसियाले प्रवासमा रहेर पनि तामाङ समुदायको धर्म, संस्कृति, भेषभूषा, परम्परा, रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ। तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्ष बुद्ध लामाका अनुसार यो दोस्रो औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

विश्वभर छरिएर रहेका तामाङहरू एक हौं, हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौं” भन्ने नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रममा लामा गुरुहरूले पूजा, मोलम पाठ गरी विधिवत रूपमा शुभारम्भ गरिने छ। साथै, चर्चित कलाकारहरूसँगै स्थानीय प्रतिभाशाली कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।

 

सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि आह्वान

क्रोएसियाका विभिन्न शहरहरूमा पेशागत रूपमा कार्यरत तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू एवं ल्होछार प्रेमी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रम स्थलमै गेटमा टिकट खरिद गर्न सक्नेछन् वा तामाङ समाज क्रोएसियाका पदाधिकारीहरूमार्फत अग्रिम टिकट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *