धुलिखेलमा आउटडोर चलचित्र छाँयाङ्कन स्टुडियो निर्माण हुने

धुलिखेल । नेपाली चलचित्र उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच चलचित्र छाँयाङ्कन स्टुडियो निर्माणार्थ समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताअनुसार धुलिखेल नगरपालिका वडा नं. ८ स्थित कटुवापाखा, बडाल गाउँमा रहेको करिब १३०० रोपनी (६८ हेक्टर) सरकारी जग्गा स्टुडियो निर्माणका लागि उपलब्ध गराइनेछ।
यसअघि, चलचित्र विकास बोर्डले २०८१ माघ २२ गते धुलिखेल नगरपालिकालाई पत्राचार गर्दै स्टुडियो निर्माणका लागि जग्गा आवश्यक पर्ने जनाएको थियो । सोही अनुरूप, नगर कार्यपालिकाको २०८१ माघ २३ गतेको निर्णयपछि समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति जुटाइएको हो ।
समझदारीपत्रमा धुलिखेल नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक कुमार ब्याञ्जु र चलचित्र विकास बोर्डको तर्फबाट अध्यक्ष दिनेशराज दाहाल (डिसी)ले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा काभ्रे २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, चलचित्र विकास बोर्डको तर्फबाट बोर्ड सदस्य के एल बुढाथोकी, वरिष्ठ चलचित्रकर्मी रविन्द्र खड्का, र धुलिखेल नगरपालिकाको तर्फबाट नगर उपप्रमुख निराजन जंगम, तथा वडा नम्बर ८ का वडा अध्यक्ष बिनोद गौतमले समेत सहभागिता जनाएका थिए ।
धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवसको अवसरमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै धुलिखेल नगरपालिका प्रमुख व्याञ्जुले धुलिखेललाई अन्तराष्ट्रिय चलचित्रको गन्तव्यको रुपमा विकास गर्दै पर्यटन प्रवर्धन समेत गर्ने भएकाले त्यसमा नगरपालिका प्रतिबद्ध रहेको जनाएका छन् ।
चलचित्रमा हिमाल र प्रकृतिका दृश्यहरू समावेश गर्न धुलिखेलको स्टुडियो प्रयोग गर्न सकिने चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले बताए ।
समझदारीअनुसार, धुलिखेल नगरपालिकाले चलचित्र विकास बोर्डलाई स्टुडियो निर्माण र सञ्चालनका लागि जग्गाको भोगाधिकार उपलब्ध गराउनेछ । साथै, आवश्यक प्रक्रिया अगाडि बढाउन दुवै पक्षले सहकार्य गर्नेछन्। सम्भाव्यता अध्ययन (Feasibility Study), वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य संयुक्त रूपमा अघि बढाइने सम्झौतापत्रमा उल्लेख गरिएको छ।
यस परियोजनाले स्थानीय रोजगारी सिर्जना गर्न मद्दत गर्ने विश्वास गरिएको छ । स्थानीय धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाबासीलाई शैक्षिक योग्यता र दक्षताका आधारमा प्राथमिकता राखेर रोजगारी दिने सम्झौता गरिएको छ ।
धुलिखेल-८ मा चलचित्र छायाँकन स्टुडियो बन्नुले नेपाली चलचित्र उद्योगको विकास प्रवर्द्धनमा ठुलो योगदान हुने, चलचित्रको गुणस्तर बढ्ने अपेक्षा गर्न सकिन्छ । चलचित्रकर्मीहरूले अब नेपालमै उत्कृष्ट गुणस्तरका प्रविधिसहितको स्टुडियोमा छाँयाङ्कन गर्न पाउँनेछन्, जसले नेपाली चलचित्र उद्योगलाई विश्वमञ्चमा प्रतिस्पर्धी बनाउन सहायता प्रदान गर्नेछ ।
यससँगै काभ्रे जिल्लाका २ पालिकामा फिल्मसिटी बन्ने भएको छ । यसअघि बनेपा नगरपालिका वडा नम्बर १० मा टेन्डर भएर निर्माण प्रक्रिया अगाडि बढाइएको र आगामी २०८२ सालको वैशाखमा शिलान्यास गरि काम अगाडि बढ्ने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।