किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु


भुम्लु । स्थानीय किसानहरूले उत्पादन गरेको साग बिक्री नहुँदा खेर जाने समस्या बढ्दै गएको छ । किसानहरूको यो समस्या समाधान गर्न भुम्लु गाउँपालिकाले नयाँ पहल गर्दै किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई आर्थिक राहत दिने उद्देश्यले प्रतिकिलो रु.२५ को दरमा साग खरिद गर्ने निर्णय गरेको हो । यसका लागि सार्वजनिक सूचना जारी गर्दै किसानलाई गाउँपालिकाको कृषि विकास शाखामा साग बिक्री गर्न आह्वान गरेको छ ।
भुम्लु गाउँपालिकाको बेखसिम्ले, सापिङ, कोड्का लगायतका क्षेत्रहरुमा अर्गानिक ठुलो साग उत्पादन हुने गरेकोले किसानले मिहिनेत गरेर उत्पादन गरेको साग बजार अभावका कारण खेर गइरहेको अवस्थामा गाउँपालिका आफैँले साग खरिद गरि गुन्द्रुक बनाउने योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताए । यस वर्ष गाउँपालिकाले सागबाट गुन्द्रुक बनाउने योजना पाइलट प्रोजेक्टको रुपमा अघि सारेको र जिल्ला एवं देशव्यापि नै गुन्द्रुकको बजारीकरण गरि हाइजेनिक गुन्द्रुक घरघरमा पुऱ्याउने लक्ष्य रहेको अध्यक्ष भुजेलले काभ्रेपोष्टलाई बताए ।
यस योजनाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने र कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । गाउँपालिकाले औपचारिक रूपमा साग खरिद गरी बजारीकरण गर्ने योजना बनाएको हो । यसले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानहरूको आम्दानीको नयाँ स्रोत खोल्नेछ । गाउँपालिकाले यो अभियानलाई “समृद्ध भुम्लु“ कार्यक्रमअन्तर्गत अघि बढाइरहेको छ । कृषि क्षेत्रको विकास, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन सोचले यो योजना अघि सारेको गाउँपालिकाले जनाएको छ ।