काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना : ११ घाइते, एकको अवस्था गम्भीर

बनेपा । बिहीबार बिहान करिब ८:२५ बजे काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–९ दाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। विपी राजमार्गअन्तर्गत उक्त स्थानमा पानी परिरहेको बेला बस चिप्लिएर अनियन्त्रित भई अर्को सवारीसंग ठोक्किएपछि सडकबाट करिब २० मिटर तल खसेको थियो।

प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानी परेको कारण ब्रेक नलागी चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ख ३३९४ नम्बरको हाईस गाडीमा ठोक्किएको थियो। दुर्घटनामा बसमा सवार १५ मध्ये ११ जना यात्रु घाइते भएका थिए। हायसमा सवार यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको तत्काल उपचारका लागि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र, मंगलटारमा लगिएको थियो। घाइतेहरूमध्ये सोलुखुम्बुकी ७३ वर्षीया सुन्तली बि.क.को अवस्था गम्भीर रहेको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ। घाइतेहरूलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको मंगलटार प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक पुस्कर श्रेष्ठले जानकारी दिए।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख पुस्कर श्रेष्ठको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। बस चालक हाल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल मंगलटार प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्दछ।

घाइतेहरूको विवरण:

१) सुन्तली बि.क., ७३, सोलुखुम्बु – टाउकोमा चोट (अवस्था गम्भीर)

२) छत्र ब. बि.क., ७०, सोलु – टाउकोमा चोट (मध्यम अवस्था) ३) रामसरण बि.क., ३४, रामेछाप – टाउको र दाहिने पाटोमा चोट

४) सिता श्रेष्ठ, ३३, काभ्रे – टाउको ठोक्किएको

५) पुजन श्रेष्ठ, २७, रामेछाप – बायाँ करङमा चोट

६) कुमुद देवकोटा, ३५, काठमाडौं – टाउको र ढाडमा चोट

७) जनक बुढाथोकी, ६२, भक्तपुर – नाकमा चोट (डिस्चार्ज)

८) पदम सुनुवार, ३५, रामेछाप – टाउकोमा चोट

९) ङावा शेर्पा, ५०, रामेछाप – करङमा चोट

१०) ङिमा शेर्पा, १०, रामेछाप – नाकमा चोट (डिस्चार्ज)

११) सुजता सुनुवार, २०, रामेछाप – सामान्य (डिस्चार्ज)

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पानी परेका कारण सडक चिप्लो भई ब्रेक नलाग्दा दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण र अनुसन्धान जारी रहेको काभ्रे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *