धुलिखेल–खावा सडकखण्ड अलपत्र, अदालतको आदेशले निर्माण अन्योलमा


धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्य अन्योलमा परेपछि उक्त सडकखण्डबाट यात्रा गर्ने यात्रुहरु, स्थानीय बासिन्दा धुलो, दुर्घटना र असहज यात्राको समस्यामा परेका छन् । ठेक्का सम्झौता भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम आधा पनि नसकिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै राजमार्गसमेत अवरुद्ध गरेका छन् ।
निर्माण कम्पनीले सडकस्तरोन्नति एवं विस्तारको काम २०७९ साल जेठ २० मा लिएको थियो । २२ महिनामा निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएपनि सम्झौताको समयसीमा सकिएको ११ महिना बित्दासमेत निर्माण सम्पन्न नभएको हो । निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवाले २०८० चैत १९ गतेभित्र बनाइसक्ने भनी रु. २० करोड १९ लाख ४६ हजार पाँच सय १ रुपैयाँमा ठेक्का हातमा लिएको थियो । गौरी–पार्वती निर्माण सेवाले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।
निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवाले समयमा काम नगरेपछि भक्तपुर सडक डिभिजनले ठेक्का रद्द गरेको थियो । तर, निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेपछि अदालतले तत्काल कुनै कारबाही नगर्न आदेश दियो, जसका कारण निर्माण कार्य झन् अन्योलमा परेको छ ।
उच्च अदालत पाटनले निर्माण व्यवसायीको पक्षमा अन्तरिम आदेश दिएको छ । जसमा सडक डिभिजन भक्तपुरले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडकखण्डको काममा अन्योलता छाएको हो ।
यसैबीच, बाटो बिग्रिएको, धुलो उड्ने र दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गत बिहीबार विरोध प्रदर्शन गरेका थिए । धुलिखेल बसपार्कदेखि खावासम्मको बाटो कतै भत्काइएको छ, कतै आधा बनेको छ भने कतै पूरै अलपत्र परेको छ । बर्खामा माटो बग्ने, हिउँदमा धुलो उड्ने समस्या झेलिरहेका यात्रुहरूले लामो समयदेखि सास्ती भोग्नुपरेको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेश आए पनि पुनः ठेक्का प्रक्रिया अघि बढाउन मन्त्रालयमा छलफल भइरहेको छ । “लागत इस्टिमेट तयार पारिएको छ, मन्त्रालयको सहमति पाउने बित्तिकै प्रक्रिया अगाडि बढ्छ,” उनले बताए ।
नेपाल–चीन जोड्ने मुख्य मार्गमध्ये एक अरनिको राजमार्गको यो खण्ड ठप्प हुँदा व्यापार तथा आवागमनमा पनि असर परेको छ । यदि तत्काल समस्या समाधान नभए यात्रुहरूको सास्ती अझै बढ्ने देखिन्छ ।