काभ्रेमा अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

धुलिखेल । २०८१ सालको असोज दोस्रो साता परेको भीषण वर्षाले क्षतिग्रस्त घरहरूको पुनःनिर्माणका लागि राहत रकम वितरण कार्य सुरु भएको छ । बाढी, पहिरो र डुबानका कारण घरवार गुमाएका काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वितरण थालिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित स्थानीय तहमार्फत लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ। यसअनुसार पहिलो किस्ताको रूपमा प्रतिघरधुरी २५ हजार रुपैयाँ वितरण प्रक्रिया सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो।
अस्थायी आवास निर्माणका लागि जिल्लाभित्र रहेका १० वटा पालिकाले आवश्यक विवरण दर्ता गरिसकेका छन्। तीमध्ये नमोबुद्ध नगरपालिकामा ८२४ घरधुरी, बेथानचोक गाउँपालिकामा २३९, महाभारत गाउँपालिकामा १७, पनौती नगरपालिकामा ६३४, पाँचखाल नगरपालिकामा ८८, धुलिखेल नगरपालिकामा ८६, मण्डनदेउपुर नगरपालिकामा १३३, खानीखोला गाउँपालिकामा ४६, चौरीदेउराली गाउँपालिकामा २८०, तथा रोशी गाउँपालिकामा ५४८ घरधुरी छन्। कुल २,७६२ घरधुरीलाई लक्षित गर्दै ७ करोड २३ लाख ७५ हजार रुपैयाँ वितरणका लागि जिल्लाको विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित पालिकाहरूको विपद् व्यवस्थापन खातामा रकम पठाइएको हो ।
तर, जिल्लाका ३ पालिकाहरू — बनेपा नगरपालिकामा ३९ घरधुरी क्षतिको विवरण छ । जसको लागि निकासी प्रक्रिया भइरहेको छ । त्यस्तै तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाबाट भने अझैसम्म क्षतिको पूर्ण विवरण प्राप्त नभएकाले उपरोक्त पहिलो किस्ता वितरण सुरु हुन नसकेको श्रेष्ठले बताए। तेमाल गाउँपालिकामा १,२०० र भुम्लु गाउँपालिकामा ४२ घरधुरीको क्षतिको प्रारम्भिक विवरण रहेको छ।
यस योजनाअनुसार पहिलो किस्ताको २५ हजार रुपैयाँ प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण कार्य सुरु गर्नुपर्नेछ। यस्तै छाना छाउने काम सम्पन्न गर्नु अघि वा निर्माण कार्य समाप्त गरेपछि मात्र लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।
साथै, अस्थायी आवास निर्माणका लागि प्रदान गरिएको अनुदान रकम लिएर पनि निर्माण नगर्ने लाभग्राहीहरूलाई नेपाल सरकारबाट प्राप्त पुनर्निर्माणसम्बन्धी अन्य सहुलियत, सेवा तथा सुविधाबाट वञ्चित गरिने छ। त्यस्ता लाभग्राहीहरूबाट अस्थायी आवास निर्माणबापत लिएको रकम सरकारी बाँकी सरह असुल गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ। लाभग्राहीलाई अस्थायी आवास निर्माण सहयोग स्वरूप प्रदान गरिने रकम बैंक खातामार्फत मात्र उपलब्ध गराइने व्यवस्था पनि अनिवार्य गरिएको छ ।
जिल्ला विपद् विपद व्यवस्थापन समितिमार्फत सम्बन्धित पालिकाको खातामा रकम निकासा गरिएको भए पनि पालिकाहरूले उक्त रकम वितरण सुरु गरेका छैनन् । चौरीदेउराली गाउँपालिकाले आइतबारबाट वितरण गर्ने जनाएको छ । बेथानचोक गाउँपालिकाले आगामी हप्तासम्म किस्ता रकम वितरण गरिने प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिनुभयो । त्यस्तै अन्य पालिकाका जिम्मेवार व्यक्तिहरूनै यस विषयमा बेखबर भएर बसेको पाइएको छ । अर्को वर्षा आउन लागिसक्दा पनि आफूहरूले राहत वापतको अस्थायी आवास निर्माणको किस्ता समयमै नपाउँदा पीडितहरू थप मर्कामा परेका छन् ।