अरुणोदयमा शैक्षिक प्रदर्शनी : विद्यार्थीको सृजनशीलताको उत्सव

पनौती । पनौती नगरपालिका वडा नम्बर ४, अरुणवाटिकास्थित अरुणोदय माध्यमिक विद्यालयमा भव्य शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, सृजनशीलता र नवाचारको संगमको रूपमा आयोजित यस प्रदर्शनीमा ७२ समूहका विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।

यस प्रदर्शनीमा पनौती नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक प्रयोग, वैज्ञानिक अवधारणा, सामाजिक अध्ययन, गणितीय गणना, भाषा र साहित्य सम्बन्धी सिर्जनशील प्रस्तुतिहरू प्रदर्शन गर्दै अनुभव समेत आदान–प्रदान गरेका थिए।

विद्यार्थीको सिकाइ र प्रदर्शनीको प्रभाव

शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूको सिकाइ क्षमतामा प्रभावकारी योगदान दिने विद्यालय प्रशासनको विश्वास छ । काभ्रे मावि पनौतीका प्रिन्सिपल तथा काभ्रे प्याब्सनका उपाध्यक्ष बसन्त नेपालका अनुसार यो कार्यक्रम विद्यार्थीहरूका लागि महत्वपूर्ण सिकाइ उपलब्धि बन्न सफल भएको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले प्रदर्शनीमा विद्यार्थीहरूले नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन र अंग्रेजी जस्ता विषयमा तयार पारेका सामग्री निकै उपयोगी रहेको बताउनुभयो। उहाँले समुदायमा आधारित उत्कृष्ट व्यवस्थापन मार्फत विद्यालयले नविनतम कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गर्नुभएको थियो ।

विद्यालयको उत्कृष्टता र विद्यार्थीको उत्साह

प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले अरुणोदय विद्यालयले आफूलाई अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र बिष्ट, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले यस्तो कार्यक्रमले आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने भन्दै उत्साह व्यक्त गरेका थिए ।

शिक्षालयको सफलता र आगामी योजना

विद्यालयका संस्थापक भिमसेन केसीका अनुसार अरुणोदय विद्यालयले शिक्षा, संस्कार र प्रोत्साहनका गतिविधिहरू अघि बढाइरहेको छ । प्रदर्शनीमा करिब १५०० अवलोकनकर्ताहरू उपस्थित भएका थिए, जसले विद्यालय र विद्यार्थीको सिर्जनशीलताको प्रशंसा गर्दै प्रोत्साहन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक विष्णु दाहालका अनुसार अध्ययन–अध्यापनसँगै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यमको रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।

विद्यार्थीहरूको सम्पूर्ण क्षमताको विकास गर्न विद्यार्थी गुणीय चक्र (SQC) को सम्पूर्ण मापदण्ड पूरा गरेर अरुणोदय विद्यालय अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित भएको छ । भारतको लखनउमा आयोजित सम्मेलनमा “बेस्ट अवार्ड” प्राप्त गर्दै विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको हो ।

शैक्षिक प्रदर्शनी विद्यार्थीहरूलाई नवीनतम विचार प्रस्तुत गर्ने, सिकाइ आदान–प्रदान गर्ने, र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण अवसर बन्न सफल बताइएको छ । विद्यार्थी, शिक्षक,  अभिभावक र शैक्षिक अभियन्ताहरूको सामूहिक प्रयासले यो कार्यक्रम यादगार र प्रभावकारी भएको सहभागिहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *