विद्युत सर्ट भएर बनेपा नालामा आगलागी: १२ लाख क्षतिको अनुमान

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ नालास्थित रामेश्वर दाहालको घरमा गए राति भएको आगलागीबाट अनुमानित १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राति करिब १:२० बजे बिजुलीको सर्ट सर्किटका कारण दाहालको इट्टाको भित्तो र जस्ताको छानो भएको दुई तल्ले कच्ची घरमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। करिब २:३० बजे आगो पूर्णरूपमा निभाइएको जनाइएको छ।

उक्त आगलागीमा घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र घर नै पूर्णरूपमा जलेर नष्ट भएका छन्। यद्यपि, मानवीय वा चौपाया क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षतिको प्रारम्भिक अनुमान करिब १२ लाख रुपैयाँ बराबरको रहेको छ।

बिजुली सर्ट सर्किटबाट भएको यो घटनाले स्थानीयहरूमा सचेतना र सावधानी आवश्यक भएको संकेत गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *