३१ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

धुलिखेल । कर्तव्य ज्यान मुद्दामा फरार रहँदै आएका एक अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार ५७ वर्षीय दान बहादुर प्रधानलाई २०८१ चैत ३१ गते धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।

साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ (हाल चौरीदेउराली गाउँपालिका–२) का प्रधानले २०५० साल वैशाख १६ गते साँझ करिब ७ बजेतिर सोही स्थानका उत्तर बहादुर प्रधानमाथि छुरी (चक्कु) प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका प्रधानको खोजी गर्दै जाँदा हालै धुलिखेलमा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

घटनासम्बन्धी मुद्दामा २०७६ साल माघ २८ गते अदालतले जन्मकैदको फैसला सुनाएको थियो। अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ परेका प्रधानलाई वैशाख ३१ गते नै कारागार कार्यालय धुलिखेल पठाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *