आगामी स्वास्थ्य बजेट निर्माणमा स्वास्थ्यमन्त्री पौडेलद्वारा रचनात्मक सुझाव आह्वान
२०८१ चैत ७ गते १८:२१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट तर्जुमा गर्ने कार्य अघि बढाएको छ । मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी बजेटमा समेटिनुपर्ने प्राथमिकताका विषयमा विभिन्न तहमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ। यसै क्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट सार्वजनिक गर्दै बजेट निर्माणार्थ सर्वसाधारण जनतालाई सुझाव पेस गर्न आह्वान गरेका छन् । मन्त्रालयले क्युआर कोड स्क्यानपश्चात आउने गुगल फर्ममा आफ्नो सुझाव चैत १२ गते मंगलबारसम्म पेश गर्न मन्त्रालयले सूचित गरेको छ ।
स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि प्राथमिकतामा पर्न सक्ने सम्भावित विषयहरूमा स्वास्थ्य सेवा पूर्वाधारको विस्तार, अत्यावश्यक औषधि तथा उपकरणको सुनिश्चितता, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन, डिजिटल स्वास्थ्य प्रणालीको प्रवर्द्धन, महामारी रोकथाम तथा व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य सेवा विस्तार, र सर्वसुलभ स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने जस्ता विषय समेट्न स्वास्थ्य मन्त्री पौडेलको क्रियाशीलता बढेको हो ।
यसैक्रममा, मन्त्रालयले सर्वसाधारण नागरिक, स्वास्थ्यकर्मी, नीति निर्माता तथा सरोकारवालाहरूको बहुमूल्य सुझाव संकलन गर्नका लागि डिजिटल प्रविधिको प्रयोग गर्ने निर्णय गरेको छ। आमनागरिकले स्वास्थ्य मन्त्रालयले तयार गरेको QR कोड स्क्यान गरी आफ्ना रचनात्मक सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछन्। प्राप्त सुझावहरूलाई विश्लेषण गरी नीतिगत तहमा समावेश गर्ने स्वास्थ्य मन्त्री पौडेलले जानकारी दिएका छन् ।
स्वास्थ्य नीति तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता आवश्यक रहेको भन्दै मन्त्रालयले सबैलाई आफ्नो अभिमत राख्न आग्रह गरेको छ। गुणस्तरीय, सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा प्रवर्द्धन गर्नका लागि नागरिकको अमुल्य सुझाव आफूलाई महत्वपूर्ण हुने पौडेलले उल्लेख गरेका छन् ।
प्रतिक्रिया
ताजा खबर