आयुर्वेद तथा अन्य चिकित्सा पद्धतिलाई समेट्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अगाडि बढिरहेको छः डा. अर्जुन उपाध्याय


आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा काभ्रेपलाञ्चोकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर निःशुल्क सेवा प्रवाह गर्दै आइरहेको छ । हालै मात्र चिकित्सालयमा स्तरोन्नति भएसँगै चिकित्सालय १६ बेडको अस्पताल बनेको हो । जसले आयुर्वेद, अकुपञ्चर, प्राकृतिक चिकित्सा, होमियोप्याथी, फिजियोथेरापी लगायतका सेवा प्रदान गर्छ। पञ्चकर्म, मर्म चिकित्सा, स्त्री तथा प्रसूति सेवाहरू निःशुल्क उपलब्ध छन् । यसका साथै रोग लाग्नै नदिन जीवनशैली, आहारविहार, योग, पञ्चकर्म, डिटोक्सिफिकेसन आदि पद्धतिहरू सहित सेवाग्राहीहरूलाई अस्पतलाले सेवा प्रवाह गर्दै आएको छ । २३ प्रकारका निःशुल्क औषधिहरू प्रदान गरिन्छ। अस्पतालले बिहान १० देखि ३ बजेसम्म टिकट काट्ने र बेलुका ५ बजेसम्म सेवा दिँदै आएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा काभ्रेपलाञ्चोक कार्यालय प्रमुख डा. अर्जुन उपाध्यायसँग चिकित्सालयले प्रवाह गरिरहेको स्वास्थ्य सेवा, आजको समयमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको महत्व, आवश्यकता र उपादेयताका विषयमा काभ्रेपोष्ट साप्ताहिक र यसकै अनलाईन संस्करणको लागि संवाददाता बालकृष्ण बजगाईंले कुराकानी गरेका छन्, प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः
♦ आयुर्वेद भनेको के हो ? आयुर्वेदको सुरुवात कसरी भयो ?
आयुर्वेद आयु र बेद दुई शब्दले बनेको छ । जसमा आयु भनेको जीवन हो । बेद भनेको विज्ञान । जीवनसँग सम्बन्धित सम्पूर्ण घटनाहरू, स्वस्थ जीवनलाई कसरी अगाडि बढाउने भनेर मार्गदर्शन गर्ने विज्ञान नै आयुर्वेद हो । त्यसैगरि आयुर्वेद जीवन जीउने कला र विज्ञान हो । मुख्य ४ वटा वेद मध्येमा सबैभन्दा कान्छो बेद अथर्ववेदमा सबैभन्दा धेरै आयुर्वेद र जीवन जीउने कलाहरू त्यसमा समावेश गरिएको छ । र त्यसकै उपवेदलाई आयुर्वद भनिन्छ ।
त्यसबाट आयु सम्बन्धी मात्रै झिकेर बनाएइको बेद आयुर्वेद सुरु भएको भनिन्छ । आयुर्वेदको सुरुवात यही भन्ने छैन । परापूर्व कालमा आयुर्वेद देवलोकमा मात्र छ भनिएको थियो । पछि दक्षप्रजापति हुँदै ऋषि धन्वन्तरीले पृथ्वी लोकमा ल्याएको भन्ने किंवदन्ती रहेको छ । आयुर्वेद ब्रम्हाबाट सृष्टि भएको हो । हालसम्म आउँदा केही परिमार्जित हुँदै आएको पाइन्छ । आयुर्वेद अनादि देखि सासत्वसम्म हुन्छ । सुरुदेखि सबैले मानेको हजारौं ऋषिहरूले प्रमाणित गरेर आएको विज्ञान हो । आयुर्वेद करिब ५ हजार वर्ष अगाडि देखि सुरु भएको भनिएको छ । चरक ऋषि, सुश्रुत ऋषिले सुरु गरेका हुन् । यद्यपि बुद्धकाल भन्दा अगाडिबाट लिपिबद्ध रुपमा अगाडि बढाएको भन्ने बुझिन्छ ।
♦ आयुर्वेदको मुख्य उद्धेश्य के हो? आयुर्वेद किन आवश्यक छ ?
आयुर्वेद भनेको जीवन जीउने कला हो । स्वस्थ, सुखी र खुसी हुनको लागि आयुर्वेद आवश्यक छ । आफू स्वस्थ नभएमा समाज र देशलाई अगाडि बढाउन सकिदैन । आयुर्वेदको मुख्य उदेश्य स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निको पार्नु हो । आयुर्वेदमा चाहिँ दोस्रो उदेश्यलाई बढी प्राथमिकता दिएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम भन्ने चीज धेरै पछि आयो । तर सदिऔं हजारौं वर्ष अगाडि देखि नै यस्तो उद्धेश्य बोकेर आयुर्वेद आएको थियो । रोग नै लाग्न नदिनु आयुर्वेदको प्रमुख उदेश्य हो । जीवनशैली, आहारविहार, दिनचर्या, ऋतुचर्या, रहनसहन, थेरापी, पञ्चकर्म, डिटोक्सिफिकेसन लगायतका पद्धतिहरूले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्धत गर्दछन् ।
♦ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले प्रदान गर्ने मुख्य सेवा सुविधाहरू के के छन् ?
गत वर्षभन्दा अगाडि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भन्ने थियो । गत वर्ष पुसबाट १६ बेडको अस्पतालमा स्तरोनन्ति गर्दै यसको नाम परिमार्जन भएको हो । नयाँ नाममा धेरैको गुनासो छ । आयुर्वेद तथा अन्य चिकित्सा पद्धतिलाई एलोपेथीले बोक्न नसक्ने हुँदा अन्य स्वास्थ्य पद्धतिलाई समेत समेट्ने उद्धेश्य सहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नाम राखिएको हो । पहिला आयुर्वद विभाग मात्र थियो । त्यो अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग बनेको छ । त्यसको सानो ईकाईको रुपमा यो चिकित्सालय हो । बैकल्पिक चिकित्सामा अकुपञ्चर, प्राकृतिक चिकित्सा, होमोपेथिक चिकित्सा, फिजियोथेरापी लगायत रहेका छन् ।
अहिले हामीले आपिडी सेवा प्रदान गरिरहेको छौं । २ जना आयुर्वेद चिकित्सक रहनुभएको छ । विशेषज्ञ चिकित्सकको दर्बन्दी छैन । छात्रवृत्ति करार र १ जना स्थायी छौं । प्रत्येक महिनामा २ पटक स्त्रीरोग विशेषज्ञले सेवा दिइरहनुभएको छ । प्रयोगशाला छ । इ वर्गको ल्याब सञ्चालनमा छ । नेपाल सरकारले तोकेको मापदण्ड अनसार हामीले पूर्ण निःशुल्क गरेका छौं । पञ्चकर्म अन्तर्गत पूर्वकर्म थेरापी सञ्चालनमा छ । जस अन्तर्गत स्वेदेन, शिरोधारा पद्धति पर्दछन् ।
♦ कसरी औषधि वितरण गर्दै आउनुभएको छ ? सबै औषधिहरू निःशुल्क पाइन्छ त ?
हाम्रो एउटा निःशुल्क र एउटा सशुल्क फार्मेशी सञ्चालनमा छ । अत्यावश्यक औषधि निःशुल्क फार्मेसीबाट औषधि वितरण गर्छौं । नेपाल सरकारले तोकेको भन्दा अन्य औषधि दिनुपरेमा कार्यालयमा नै सशुल्क फार्मेसी समेत सञ्चालनमा छ । यहाँ निःशुल्क रुपमा २३ प्रकारका औषधि पाइन्छ । ग्यास्ट्रिकको लागि अपिपत्तिकर चुर्ण, महिलाको लागि ब्रुसियाना चुर्ण, बच्चाको लागि , जेष्ठ नागरिकका लागि अस्वगन्धा, अमला, बाथरोग, युरिक एसिडको लागि, पेटको लागि हिंगवास्टक चुर्ण, महासंख बटी, चन्द्रप्रभाबटी ईत्यादि । केही प्याटन औषधिहरू किन्नुपर्ने हुन्छ । किन्नुपर्ने ७५ प्रकारका औषधि छन् । औषधि विगतका वर्षहरूमा औषधिको लागि धेरै पैसा आउथ्यो । बिरामी पनि कम हुनुहुन्थ्यो । बिरामीलाई यथेष्ट रुपमा पुग्थ्यो । अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ तर सरकारको तर्फबाट औषधि खरिदको लागि आउने बजेट ६०–७० प्रतिशत रकम कम बिनियोजन भएको छ । औषधि खरिदको बजेट धेरै नै कम विनियोजन भएको छ । जसबाट धेरैमा ३–४ महिनालाई पुग्ने अवस्था छ । बाँकी औषधि स्वास्थ्य आपूर्ति केन्द्र मार्फत स्वास्थ्य मन्त्रालय अन्तर्गतको छ । स्वास्थ्य मन्त्रालयले आफैँले आयुर्वेद औषधि उत्पादन केन्द्र खोलेको छ । निकट भविष्यमा त्यहाँबाट बनेको औषधि आउनेछ । जसबाट हामीलाई र बिरामीहरूलाई सहज हुने अपेक्षा लिन सकिन्छ ।
♦ यहाँ उपलब्ध उपचार पद्धतिको बारेमा जानकारी गराइदिनुहोस् न ?
वैकल्पिकमा अक्युपञ्चर सेवा अन्तर्गत प्यारालाईसिस घुडा दुख्ने, नशा च्याप्नेदेखि लिएर अन्य समस्यामा अकुपञ्चर सेवा प्रवाह गरिरहेका छौं । जुनचाहिँ निकै लाभकारी छ । त्यसैगरि थेरापेटिक रक्त प्रवर्धनात्मक योग सञ्चालनमा छ । यहाँ बिरामी विशेषलाई योग, प्रणायाम, थेरापी लगायतका प्रविधि सिकाउँछौं । जुन चाहिँ दैनिक उहाँहरूले घरमै गर्नसक्नुहुन्छ । त्यसैगरि मर्म चिकित्सा, अग्निकर्म चिकित्सा, स्त्री तथा प्रसुति सम्बन्धी सामान्य परिक्षण सुरु गरेका छौं । जुन निःशुल्क छ । विभिन्न कार्यक्रम जस्तैः पथ्याहार अन्तर्गत बिरामीहरूलाई हामीले ऋतु अनुसारले हामीले पथ्याहार यही पकाएर विरामीलाई वितरण गर्दै आएका छौं । त्यस्तै प्रत्येक सोमबार बिहान ८ देखि १० बजेसम्म मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम रहेको छ । ३० वर्षभन्दा माथिका सम्पूर्ण विरामीलाई उहाँहरूको नसर्ने रोग छ कि भनेर परिक्षण गर्ने कार्यक्रम समेत सञ्चालनमा छ ।
♦ बिरामीलाई कसरी सेवा पुऱ्याइरहनु भएको छ ?
हामीले बिहान १० बजेदेखि ३ बजेसम्म टिकट काटी ५ बजेसम्म बिरामी जाँच गर्छौं । टाढाबाट आउनुभएको खण्डमा भने ३ बजेपछि आउनुभयो भनेपनि हेर्ने गरेका छौं । थेरापी लिइरहनु भएका बिरामी सिधैं थेरापीमा पनि जान सक्नुहुन्छ । थेरापीको व्यवस्था यही चिकित्सालयमा उपलब्ध रहेको छ ।
♦ चिकित्सालयमा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मी कति जना छन् ?
हामी जम्मा जनशक्ति १४ जना छौं । बिरामीलाई चिकित्सक मार्फत परिक्षण गर्दै आएका छौं । प्राविधिकहरूले कार्यालयको व्यवस्थापन र सञ्चानल सम्बन्धी कार्यहरू गर्नुहुन्छ । हामीसँग २ जना चिकित्सक हुनुहुन्छ । एक छात्रवृत्ति करार एक स्थायी हुनुहुन्छ । दरबन्दी अनुसार ३ वटा शाखामा बिभाजन भएको छ । जसमध्ये एक चिकित्साशाखा रहेको छ । जसमा डाक्टर र एकजना वरिष्ठ वैद्य हुनुहुन्छ । जीवनशैली तथा स्वस्थवृत्ति शाखामा कविराज र सहायक वैद्य एक जना हुनुहुन्छ । त्यसैगरी प्रशासन अन्तर्गत लेखा शाखा छ । जसमा दर्बन्दी छैन । । चिकित्सालय भएपछि यति दरबन्दीले अस्पताल चल्दैन । निकट भविष्यमा परिचालिका, नर्सहरू साथै स्टाफहरू थप हुनेछ भन्ने आशा छ । ५ जना बाहेक अन्य कर्मचारीमा करारमा नियुक्त हुनुहुन्छ ।
♦ उपचारमा प्रयोग गरिने औषधि कसरी यहाँसम्म आईपुग्छन् ?
प्रदेश सरकार र संघ सरकारले थोरै बजेट विनियोजन गर्छ । पहिला चाहिँ १६ लाख थियो । अहिले ५ लाखमा झरेको छ । विनियोजित बजेटबाट प्रक्रियागत खरिद प्रक्रिया मार्फत औषधिहरू कार्यालयले खरिद गर्छ । अन्य औषधिहरू आपूर्तिबाट प्राप्त हुन्छ । उत्पादन केन्द्रबाट अहिलेसम्म प्राप्त भएको छैन । निकट भविष्यमा प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।
♦ चिकित्सालयको व्यवस्थापन र कार्यसम्पादनमा के कस्ता चुनौतीहरू रहेका छन् ?
अहिले संस्था स्तरोन्नति भएसँगै १६ बेड भएको छ । एकदमै संकुचित ठाउँबाट कार्यालय सञ्चालन गरिरहनु परेको छ । पहिलेकै भवनबाट सञ्चालन गरिरहेको अवस्थामा कार्यालयको लागि जग्गा खोज्ने कार्य जारी छ । जग्गा प्राप्त भएपछि प्रदेशको मन्त्रालयले १६ बेडको अस्पताल बनाईदिन्छ । अर्को कुरा जनशक्तिको अभाव रहेको छ । विरामी हेर्नका लागि प्राविधिकले हेर्ने कुरा आएन । यसमा चिकित्सकको दरबन्दी थप गर्न हामीले माग गरेका छौं । अर्को औषधिको लागि बजेट व्यवस्थापन रहेको छ । बिरामी चाप बढ्दो छ । बजेटको कारण औषधिको आपूर्ति घटाउनुपर्ने अवस्था छ । जनशक्ति, ठाउँ अभाव मुख्य चुनौती हो । तर बिरामीको संख्या भने उत्साहजनक छ ।
♦ ग्रामीण र दुर्गम क्षेत्रका बिरामी लक्षित विशेष कार्यक्रम छन् कि ?
यो जिल्ला स्तरिय चिकित्सालय हो । स्थानीय तहको मातहतमा ४ औषधालयहरू स्थानीय तह अन्तर्गत गएका छन् । जहाँ औषधालयहरू छैनन्, त्यहाँ चाहिँ हामीले नागरिक आरोग्य केन्द्र भनेर ग्रामीण स्तरमा निर्माण गरेका छौं । नागरिक आरोग्य केन्द्र ४ पालिकामा छ । भुम्लु र बेथानचोक गाउँपालिका, मण्डनदेउपुर र पनौती नगरपालिकामा सञ्चालन गरेका छौं । बाँकी बालुवा, रोशी, मंगलटार, धुलिखेल, दाप्चामा आयुर्वेद औषधालय सञ्चालनमा छ । जुन चाहिँ स्थानीय तहले सञ्चालन गर्छ । अन्य पालिकामा चाहिँ हाम्रो आयुर्वेद सुविधा छैन । यस्ता क्षेत्रमा जान हामीले प्रयत्न गरिरहेका छौं । महिला स्वस्थ स्वंयसेवीलाई अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रम गरिरहेका छौं ।
♦ बिकट क्षेत्र महाभारत र खानीखोलामा कार्यक्रम बनाएर वा स्वयंसेविका मार्फत सेवा पुर्याउन केही गर्नुभएको छ ?
महाभारत र खानीखोला जस्ता विकट क्षेत्रमा स्वास्थ्य शिविर जस्ता कार्यक्रम लिएर जाने गरेका छौं । तर यो आर्थिक कटौतीका कारण यो आर्थिक वर्षमा कार्यक्रम सम्भव छैन । तर यस्ता कार्यक्रम लिएर निकट भविष्यमा जानेछौं ।
♦ कार्यालय र सेवाको वृद्धि गर्न अन्य निकायहरूसँग सहकार्य गर्ने योजना बनाउनु भएको छ ?
नेपाल सरकार र बागमती प्रदेश सरकारको स्वामित्व भएकाले हामीले अन्य संघसंस्थासँग कार्यक्रम गर्ने अनुमति हुँदैन । स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएर कार्यक्रम गर्नुपर्ने हुन्छ । अन्य कार्यक्रम गर्दा विभिन्न संघसंस्थासँग हातेमाले गरेर गर्ने गरेका छौं । पब्लिक प्राइभेट पार्टनसिप कार्यक्रम गरिएको छैन । धुलिखेल अस्पतालसँग पाठेघरको मुखको जाँच (भिआईए) गर्ने भन्ने निर्णय नै भइसकेको छ । उक्त सेवा हामीले यही कार्यालयबाट निःशुल्क सेवा दिने गरि सुरु गर्न लागेका हौं ।
♦ अस्पतालले भविष्यमा गर्न खोजेका नयाँ योजना र सेवाको बारेमा जानकारी दिनुहोस् न ?
अस्पताल निर्माण मुख्य योजना रहेको छ । जग्गा प्राप्तिभएसँगै अस्पताल निर्माण प्रक्रिया अघि बढ्छ । अस्पाल निर्माण भएपछि टाढा टाढाबाट आउने बिरामीहरूलाई सहजता दिलाउन अस्पतालमा राखेर नै उपचार गर्न सकिने हुँदा उपचार प्रभावकारी, व्यवस्थित र फाइदाजनक हुनेछ । मर्म चिकित्सा, अग्निकर्म र विशेषज्ञ सेवा सुरु गरेका छौं । क्षारसुत्र द्वारा पाइल्स, फिस्टुलाको उपचार गर्ने योजना रहेको छ ।
♦ अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आयुर्वेद जीवन शैली अपनाऔं । अस्पतालको सेवा वृद्धि विकास भइरहन्छ । सधैँभरि अस्पतालमा आउने भन्दापनि हामीले दैनिक व्याम, योग, प्रणायाम गरेर मन, आत्मा र शरीरलाई सन्तुलित बनाउने माध्यम भनेको नै आयुर्वेद नै हो । यी ३ कुराहरूको सन्तुलन मिलेपछि स्वस्थ रहन सक्छौं । जसको कारण हामी सुखी हुन सक्छौं । आधुनिक झड्किला र भड्किला जीवनशैलीबाट टाढा रही स्वस्थ जीवन बिताऔं भन्न चाहन्छु । धन्यवाद ।