कृषि कर्जा र बिमा समस्याको समाधान खोज्दै अन्तरक्रिया


धुलिखेल । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले कृषि कर्जा तथा कृषि बिमाबारे सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषि विकास कार्यालयले पहिलोपटक कर्जा र बिमाका विषयमा केन्द्रित रहेर बिमा कम्पनी, बैंक र कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुल प्रसाद दवाडीले कृषि बिमा तथा सहुलियत कर्जामा कृषकहरुको पहुँच, अवस्था र चुनौतीका विषयमा प्रस्तुतिकरण दिएका थिए । उनले जिल्लामा भएका कृषकहरुका लागि सरल र सहज कर्जा प्रवाह, बाली बिमाका बारेमा जानकारी गराउने उद्देश्यले बैंक, वित्तीय संस्था र बिमा कम्पनीसँग अन्तरक्रिया आयोजना गरेको बताए ।
जिल्लामा करिब ७० हजा कृषकहरु कृषि पेशामा आवद्ध रहेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जसमध्ये ९ हजार ६ सय २९ कृषक परिवारले कृषि ऋण लिएका छन् । भने ३० हजार ७ सय ५६ परिवारका लागि कृषि ऋण आवश्यक भएको तथ्यांक प्रमुख दवाडीले सार्वजनिक गरेका थिए । किसानहरुमा कृषि बिमासम्वन्धी चेतनाको अभाव, अनौपचारिक बैंकिङ पहुँच, संस्थागत व्यवसायिक कृषिको विकासको कमी, दुर्गम क्षेत्रमा कम पहुँच लगायतका कारण कृषि बिमा तथा कर्जामा कृषकहरुले समस्या भोगिरहेको प्रमुख दवाडीले बताए । कर्जा प्रवाहमा ढिलाई र जटिलता, धितोको लागि सम्पतिको अभाव, जग्गावालाले लालपुर्जा प्रयोग गर्न नदिने अवस्था, वित्तिय साक्षरताको कमीको कारणले कृषकहरुले कर्जा र बिमामा समस्या खेपिरहेको उनको भनाई थियो । यस छलफल अन्तरक्रिया कार्यक्रमले यस्ता समस्याको समाधान निस्कने र आगामी दिनमा कृषकहरुलाई सहज हुने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कृषि बिमाले आगलागी, चट्याङ, भुकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भुस्खलन, आँधीवेहरी, असिना हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य कारणहरु (जंगली जनावरले हुने हानी नोक्सानी) किरा तथा रोगबाट हुने हानीनोक्सानी, माछामा विषादीबाट हुने नोक्सानी, अन्य बालीबाट विशेष अनुसारका जोखिम बहन गर्नेछ । सहायक निर्देशक सिता पाण्डेले बिमा कार्यक्रम सम्वन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएकी थिइन् । त्यस्तै अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक बनेपाका प्रबन्धक जगन्नाथ अधिकारीले कृषि कर्जाका विषयमा जानकारी गराएका थिए । भने निक्षेप तथा कर्जा सुरक्षण कोषको कर्जा सुरक्षण विभाग प्रमुख मन्दिरा थपलियाले कर्जा सुरक्षणका व्यवस्थाबारे जानकारी गराएकी थिइन् । जिल्ला कृषि सहकारी संघका अध्यक्ष हरिश्चन्द्र घिमिरेले कृषि कर्जा र बिमा प्रक्रियालाई सहज र प्रभावकारी बनाउनुपर्ने भन्दै संघको तर्फबाट यसमा खेल्नुपर्ने भूमिकाका लागि सधैं तयार रहेको बताए ।
कार्यक्रममा सहभागी कृषकहरुले कृषि कर्जा लिने प्रक्रिया, बिमा गर्ने र भुक्तानी लिने प्रक्रियालाई सहज बनाउनुपर्नेमा सरोकारवाला व्यक्तिहरुलाई सुझाएका थिए । किसानहरुले उत्पादन गरेको कृषि उपजमा विभिन्न कारणले रोग तथा किराबाट हानिनोक्सानी भएको एवं पशुचौपायामा लागेको रोगको समयमै बिमाको दाबी भुक्तानी पाउन नसकेको, बिमा नवीकरण हुन नसकेको गुनासो गरेका थिए । बैंकहरुले सरलरुपमा किसानलाई कर्जा दिने भनिए पनि व्यवहारमा त्यो लागु हुन नसकेको बताइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले कृषि बिमाबारे किसानसम्म जानकारी प्रभावकारीरुपमा पुग्न नसकेको बताए । अध्यक्ष न्यौपानेले सरोकारवालाहरु सबै मिलेर किसानहरुलाई कृषि कर्जा तथा बिमा सम्बन्धी पर्याप्त जानकारी दिन भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा कृषि विकास कार्यालयका अधिकृत दिनेश कोइराला, बागबानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटी, रेशम विकास केन्द्रका प्रमुख कृष्ण धिताल, पशुसेवा कार्यालय काभ्रेपलाञ्चोक प्रमुख डा. सिर्जा वाग्ले, पनौती नगरपालिका स्वास्थ शाखा प्रमुख डा. दिपिका रेग्मी, जिल्लामा क्रियाशील सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।