सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र फोहोरमैला व्यवस्थापन नियम उल्लंघन गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको छ।
२०८१ फागुन २५ गते पार्टी कार्यालयबाट आयोजित र्याली कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला क्षेत्रका सडक, आईल्याण्ड, रेलिङ तथा बिरुवामा क्षति पुर्याउनुका साथै जथाभावी फोहोर फालेर वातावरण प्रदूषित गरेको भन्दै महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।
काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा जरिवाना तोकेको जनाएको छ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको पत्रमा निर्वाचन आयोग र प्रशासन विभागलाई समेत बोधार्थ पठाइएको छ।
राप्रपाले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।