पनौतीमा ‘लक्ष्य स्मृति कप २०८१’ फागुन ३ गतेबाट

पनौती । समाजसेवी तथा खेलकुदप्रेमी स्वर्गीय लक्ष्मी नारायण खिंबञ्जारको सम्झनामा आगामी फागुन ३ गतेदेखि लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप २०८१ खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मानेश्वरी ब्वाइज क्लबको आयोजना तथा विश्राम समाजको सहआयोजनामा हुन लागेको प्रतियोगिता पनौती क्षेत्रीय रंगशालामा सम्पन्न हुने आयोजकले जनाएको छ।
अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको व्यवस्थापन, सहभागी टिम तथा पुरस्कारबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो । प्रतियोगितामा नेपालका प्रतिष्ठित ‘ए’ र ‘बी’ डिभिजनका क्लबहरू, छिमेकी जिल्लाका क्लबहरू तथा विभागीय टिमसहित १५ भन्दा बढी टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख रुपैयाँसहित अन्य पुरस्कार हात पार्नेछ । साथै, अनुशासित क्लब, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रतिरक्षक तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गरी कुल २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
अध्यक्ष श्रेष्ठका अनुसार पुरस्कार वितरणका लागि कुल ५ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ भने प्रतियोगिताको कुल अनुमानित लागत १७ लाख रुपैयाँभन्दा बढी रहनेछ ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै फुटबल खेलप्रति रुचि अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । प्रतियोगितालाई भव्य र सफल बनाउन खेलप्रेमी तथा स्थानीय बासिन्दालाई उपस्थितिका लागि आयोजक क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष विनोद कुमार न्यौपाने, सचिव नगेन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेपलाञ्चोक अध्यक्ष केदार तिमल्सिना लगायत क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।