लायन्स क्लब अफ काठमाडौं पिस वल्डद्वारा ब्ल्याङ्केट सहयोग


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं पिस वल्ड, सरस्वतीनगरले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित धर्मशालालाई ३० थान ब्ल्याङ्केट हस्तान्तरण गरेको छ ।
शान्तिनगर उपभोक्ता समितिले सञ्चालन गर्दै आएको क्रियापुत्री सेवाका लागि सो सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष रामहरि श्रेष्ठ, उपाध्यक्ष रघुनाथ भण्डारी, सचिव नारायण कार्कीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा ब्ल्याङ्केट हस्तान्तरण गरिएको सचिव कार्कीले जानकारी दिए ।
सहयोगप्रति आभार प्रकट गर्दै उपभोक्ता समिति अध्यक्ष बुद्धिगम्भीर थापाले सामाजिक सेवामा सक्रिय लायन्स क्लबप्रति धन्यवाद ज्ञापन गरे ।
क्लब स्थापनाकालदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले जेष्ठ नागरिक सम्मान, धार्मिक क्षेत्रको सरसफाइ, विपन्न बालबालिकालाई शैक्षिक सामग्री, विपद् राहत वितरण, अनाथ तथा वृद्ध आश्रमका बासिन्दालाई भोजन वितरणजस्ता कार्यहरू गर्दै आएको जानकारी दिए ।