विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काभ्रेमा प्रभातफेरी र स्वास्थ्य परीक्षण कार्यक्रम

बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आज प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।
बिहानी समयमा आयोजित प्रभातफेरी कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, पूर्व अध्यक्षहरू, अग्रज पत्रकारहरू तथा सञ्चार सम्बन्धित संघ-संगठनका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा नसर्ने रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण सेवा पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा काभ्रेमा क्रियाशील सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकलाई विशेष धन्यवाद दिँदै अध्यक्ष विनोदकुमार न्यौपानेले सञ्चारकर्मीहरूका लागि यस्ता स्वास्थ्योपयोगी कार्यक्रम आवश्यक रहेको बताउनुभयो । व्यवस्थापन सहयोगका लागि जिल्ला सहकारी संघ काभ्रेलाई पनि महासंघले आभार प्रकट गरेको छ।
अध्यक्ष न्यौपानेले आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै प्रेस स्वतन्त्रता, पत्रकारहरूको स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थिति र सहभागिताको लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा सचिव नगेन्द्र अधिकारीले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।
लोकतन्त्रलाई थप उन्नत र मजबुत बनाउन स्वतन्त्र प्रेस अपरिहार्य रहन्छ । प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यतिनै सुदृढ र सबल हुँदै जानेमा दुइमत छैन । नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक सुनिश्चित लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहन्छ ।