क्रोएसियामा नेपाली चलचित्र ‘एन्जिला’ प्रदर्शनमा आउने

जाग्रेब । नेपाली कथानक चलचित्र ‘एन्जिला’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र २०२५ जुन १ तारिख आइतबारका दिन जाग्रेबस्थित नेशनल युनिभर्सिटी सेसभेटमा प्रदर्शन गरिने तयारी भइरहेको हो ।

चलचित्र बिहान ११:०० बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे गरि तीनवटा शोमा प्रस्तुत हुनेछ । आयोजकका अनुसार टिकट दर प्रति व्यक्ति १० युरोमा चलचित्र हेर्न सकिने बताइएको छ ।

बुद्ध मार्टको आयोजनामा प्रदर्शन हुन लागेको चलचित्र एन्जिलामा तिलक भट्ट, क्रिस्टिना शाही, शिला र प्रिन्स दिप्सनको सहकार्यबाट चलचित्र प्रदर्शन सम्भव भएको हो ।

चलचित्रको टिकट बुद्ध मार्ट, एभरेष्ट मम, थोमस बार, योञ्जन ट्राभल्स, मार्केट बास्केट लगायतका स्थानहरूमा उपलब्ध हुनेछ । साथै, प्रदर्शनकै दिन नेशनल युनिभर्सिटी सेस्भेट परिसरमै पनि टिकट खरिद गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ । टिकट बुकिङका लागि उल्लेखित संस्थाहरूसँग अग्रिम सम्पर्क गर्न सकिनेछ।

पोर्चुगलमा प्रदर्शन भइसकेको चलचित्र एन्जिलाले दर्शक श्रोताको मन जित्दै उत्कृष्ट व्यावसायिक सफलता समेत हात पारेको छ । यससँगै चलचित्रमा मुख्य कलाकार एन्जिला तुम्बापो सुब्बा स्वयं नै उपस्थित भएर दर्शकसँग खुसी साटेकी थिइन् ।

टिमले यसअघि लाजशरणम् चलचित्रको सफल प्रदर्शन गरिसकेको छ । पछिल्लो समय क्रोएसियामा नेपाली चलचित्र प्रति दर्शकहरुको रुचि र माया ह्वात्तै बढेको छ । नेपाली कला र कलाकारको सम्मानस्वरुप चलचित्र हेर्ने र बिदाको समयको उत्कृष्ट व्यवस्थापन नेपाली प्रवासीहरूले गर्दै आएका छन् ।

क्रोएसियामा रहेका नेपालीहरूलाई फुटबलर एन्जिला तुम्बाहाम्फेको खेल यात्रा र संघर्षलाई चलचित्रले प्रस्तुत गर्ने जमर्को गरिएको छ । नेपालको खेल परिवेशसँग जोड्ने र बिदाको समयलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा चलचित्रको ट्रेलरमा चित्रण गरिएको छ ।

पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने दृश्य समेटिएको छ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार पनि छन् । शीर्ष भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् ।

प्रेमकुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ । ‘अन्जिला’ फागुन २९ बाट नेपालमा प्रदर्शन सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *