बेलर स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बनेपा । बेलर स्कुल, बनेपाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

प्रमुख अतिथि ढकालले शिक्षा मात्र नभई संस्कार सिकाउने माध्यमका रूपमा विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले समृद्ध समाज निर्माणका लागि खेलकुद र अतिरिक्त क्रियाकलापको आवश्यकता औंल्याए।

जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खडकाले घर बालबालिकाको पहिलो विद्यालय भएकाले अभिभावकले व्यवहारिक शिक्षा दिनुपर्ने धारणा राखिन्। प्रविधिले अवसरसँगै चुनौतीसमेत सिर्जना गर्ने भएकाले सचेत रहनुपर्ने उनले सुझाव दिइन्।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने र पूर्व अध्यक्ष इश्वरी ओझाले विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे। प्रिन्सिपल इन्दु थापाले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास गरिरहेको बताइन्।

कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो, जहाँ कक्षा ६-१०, कक्षा २-५, र शिशु कक्षा-१ सम्मका विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरे। सोही अवसरमा फिलिपिन्समा एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी विद्यार्थी स्मृति नापितलाई सम्मान गरियो।

सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूका कला र क्षमता झल्किएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *