क्रोएसियामा चलचित्र ‘लाज शरणम’ प्रदर्शनमा आउने


जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र लाज शरणम प्रदर्शनमा आउने भएको छ । क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र प्रदर्शनमा आउने भएको हो । प्रवासी नेपालीबिच प्रदर्शन गर्न लागिएको चलचित्र २०२५ अप्रिल २० गते आइतबारको दिन प्रदर्शन गरिनेछ ।
जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र सेभेन सिज इन्टरनेशनल फिल्मसँगको सहकार्यमा बुद्ध मार्ट क्रोएसियाले प्रदर्शनमा ल्याउन लागेको हो । क्रोएसियामा रहेका नेपाली समुदायलाई नेपाली चलचित्र देखाउँदै नेपालको सांस्कृतिक, राजनीतिक र सामाजिक परिवेशसँग जोड्न र फुर्सदको समयलाई प्रभावकारी बनाउन चलचित्र प्रदर्शन गर्न लागिएको बताइएको छ ।
चलचित्र प्रदर्शनको लागि क्रोएसियास्थित विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् । नेपाली होस्टल डायमण्ड, थोमश बार, गोर्खा मार्ट, सभोर्जा, योञ्जन ट्राभल एण्ड टुर र मार्केट बास्केटले चलचित्र प्रदर्शनीमा सहकार्य गरेका छन् । चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य १० युरो रहेको प्रदर्शक संस्थाले जानकारी दिएको छ ।

चलचित्र लाज शरणम् बिहान ११:०० बजे, दिउँसो २:१५ बजे, साँझ ५:३० गरि ३ शो नै चल्ने चलचित्रको व्यवस्थापन पक्ष सम्हालिरहेका तिलक भट्टले जानकारी दिए ।
कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्रमा सिताराम कट्टेल (धर्मुश), विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, विजय लामा, सागर लम्साल (बले), अर्जनु घिमिरे (पाँडे), , प्रियाना आचार्य, रेणु योगी लगायतका कलाकारको अभिनय रहेको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले चलचित्रको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ………..’ प्रमोशन गीत गाएपश्चात उक्त चलचित्रको चर्चा चुलिएको थियो । चलचित्रमा कलाकार कट्टेलले पूर्वमन्त्री अफताव आलम जस्तै गेटअप तयार गरेपछि चलचित्र विरुद्ध मुद्धा समेत दायर भएको थियो । तर चलचित्रमा आपत्तिजनक दृश्य नभएको भनेपछि चलचित्र तोकिएकै मितिबाट प्रदर्शनमा आएको थियो ।
लाज शरणम्’ चलचित्र जिग्री पाँडे टिम (जेपिटी क्रियसन) ब्यानरअन्तर्गत निर्माण गरिएको हो । चलचित्रको निर्माता नवीन श्रेष्ठ हुन् । सहनिर्माता सिर्जना खड्का र राम नरेश साह हुन् । चलचित्रमा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
क्रोएसियामा चलचित्रको टिकटको लागि उल्लेखित सहयोगी संस्थाहरू सम्पर्क गरि अग्रिम बुकिङ गर्न सकिने वा प्रदर्शन हुने दिनमा हल प्रवेश गर्नुअघि खरिद गर्न सकिने बताइएको छ ।