बुडोल सामुदायिक सहकारीको २६ औं वार्षिकोत्सव समारोहमा विविध कार्यक्रम

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिकोत्सव समारोह भव्यताका साथ मनाइएको छ । बनेपा स्थित होटल उग्रचण्डीमा संस्थाले वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

युग सुहाउँदो नीति, विधि र प्रविधिमा चलेको यस सहकारी संस्थाले समुदायमा आधारित भई सदस्यको सेवालाई केन्द्रमा राखी सहकारी अभियान अगाडि बढाइरहेको छ । सहकारीले टुकुचा जागरण सेवाकेन्द्र, बनेपा जनमैत्री सेवाकेन्द्र, पाँचखाल सेवाकेन्द्र र धुलिखेल सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सव समारोह संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मल्लले सहकारी व्यापार हो तर सहकारीको छुट्टै पहिचान बनाउनुपर्ने बताउनुभयो । बुडोल सामुदायिक सहकारीले प्रवाह गरिरहेको अत्याधुनिक सेवा उत्कृष्ट रहेको बताइन् । अध्यक्ष मल्ले संस्थाले वित्तीय सुशासन र वित्तीय पार्दर्शिता स्पष्ट देखिने गरि काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सहकारी संस्था सबल हुनु भनेको उसको सदस्यको जीवनस्तर उकासियो कि उकासिएन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने अध्यक्ष मल्लको तर्क थियो ।

सहकारीलाई स्थानीय स्तरमा दर्ता हुने तर केन्द्रिय संयन्त्रद्वारा नियमन गर्नका लागि सुझाव प्रस्तुत गरिएको अध्यक्ष मल्लले सुनाइन् । सरकारद्वारा जारी विधेयकमा कतिपय अव्यावहारिक विषयवस्तुहरू समावेश गरिएकाले त्यसलाई सुधार गर्नेका लागि सुझाव समेत पेश गरिएक मल्लले प्रतिबद्दता जनाईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बचत तथा ऋण सहाकरी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का लगायतले सहकारी क्षेत्रका समस्या, अध्यादेश, लगायतका विषयमा धारणा राख्दै वर्तमान विधेयकका सबल र खराब पक्षहरूको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा दीर्घ सेवा पदक तथा सम्मानबाट अधिकृत इन्दिरा कार्की के.सी.लाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी सम्मानबाट बरिष्ठ सहायक सागर कुँबरलाई सम्मान गरिएको थियो । सहकारीले यसै वर्ष देखि विशेष क्षमता (अपाङ्गता) भएका सदस्यलाई सहयोग गर्ने घोषणा गरेको छ ।

संस्थामा आवद्ध रहेका सदस्यहरु मध्ये क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रमघोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । उक्त सहयोग संस्थाले सम्बन्धित सदस्यको घरमै गई सहयोग उपलब्ध गराउने ठकुरीले बताए ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखामा नवनिर्वाचित विनोद कुमार न्यौपाने नेतृत्वका कार्यसमितिलाई बधाई तथा शुभकामनासँगै सम्मान समेत गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सर्वमंगला मा.वि., पाँचखाल प्रथम भएको थियो । प्रथम भएको विद्यालयले ८ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

बनेपाको भक्तेश्वर गोसाइकुण्ड मा.वि, बनेपा दोश्रो भएको थियो । उक्त विद्यालयले नगद ६ हजार ६ सय ६७ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । रत्नचुण्डेश्वर मा.वि, बनेपा नालाको विद्यालय तेश्रो भएको थियो । उक्त विद्यालयले नगद ५ हजार ३ सय ३३ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै सान्त्वना पुरस्कारशुभचामुण्डा मा.वि, बनेपा नालाले प्राप्त गऱ्यो । उक्त विद्यालयले नगद ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट सदस्य तथा बाल बचतकर्ता सम्मान गरिएको छ । असल बचतकर्ता बसुन्धरा केसी र उत्सव केसी, उत्कृष्ट ऋणी मुनामाई दुलाल र प्रशान्त गिरी, उत्कृष्ट बाल बचतकर्ता रायना श्रेष्ठ र आयन गनेजु, अधिकतम संरक्षित पूँजीफिर्ता कोष तर्फबाट बन्दना न्यौपाने र दिपकरत्न शाक्य सम्मानित भएका छन् । नियमित रक्तदाता रामकुमार भुजेल र सुर्वण केसी सम्मानित भएका छन् । भुजेलले १० पटक र केसीले ५ पटक रत्तदान गरेका छन् ।

त्यस्तै बुसा शैक्षिक सम्मानबाट स्नातकोत्तर तहमा उर्तिण हुने अन्जना देवजु, पस्पा थापा, अप्सरा न्यौपाने र शर्मिला बडाल सम्मानित भएका छन् । स्नातक तह तर्फ शुभेच्छा श्रेष्ठ, गौतम आचार्य, अनिशा रञ्जितकार र रामहरी बुढाथोकी सम्मानित भएका छन् । दश जोड दुई तर्फ २६ जना सम्मानित भएका छन् ।

कार्यक्रममा संस्थाका सचिव जयराम थापा लगायत संचालक समितिका पदाधिकारीहरु, उपसमितिका पदाधिकारीहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरु, जिल्ला स्थित सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत एवं प्रतिनिधिहरू, जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *