बनेपा मेयर कप २०८१ को उपाधि वडा नं.६ लाई

बनेपा । बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १४ लाई १–० ले पराजित गर्दै वडा नम्बर ६ ले च्याम्पियनको उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। खेल निकै प्रतिस्पर्धात्मक रहे पनि वडा नम्बर ६ का खेलाडी पारस नेपालले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

बनेपा नगरपालिकाको आयोजनामा तथा वडा नम्बर ९ को संयोजनमा भएको यस प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर १४ बीचको फाइनल खेल निकै रोमाञ्चक रह्यो। खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिएका थिए। पहिलो हाफमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा भने वडा नम्बर ६ का पारस नेपालले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि वडा नम्बर १४ ले बराबरी गर्न भगिरथ प्रयास गरे पनि वडा नम्बर ६ को कडा डिफेन्सका कारण सफल हुन सकेन।

प्रतियोगिताको विजेता बनेको वडा नम्बर ६ ले नगद एक लाख पाँच हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र, र मेडल प्राप्त गर्‍यो। त्यस्तै, उपविजेता बनेको वडा नम्बर १४ ले नगद ५५ हजार रुपैयाँसहित सिल्ड, प्रमाणपत्र, र मेडल प्राप्त गर्‍यो। विजेता टिमका खेलाडी तथा समर्थकहरू उपाधि जितेपछि खुसीयालीमा रमाए।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष उपाधिहरू प्रदान गरियो। म्यान अफ द म्याच वडा नम्बर ६ को तर्फबाट गोल स्कोरर पारस नेपाल घोषित भए। बेस्ट प्लेयरको उपाधि वडा नम्बर १४ का वीरेन्द्र थापाले प्राप्त गरे। बेस्ट डिफेन्सको उपाधि वडा नम्बर ११ का प्रभात बोगटीले जिते भने बेस्ट मिडफिल्डर वडा नम्बर ९ का पुनम आलेमगर घोषित भए।

इमर्जिङ प्लेयरको उपाधि वडा नम्बर ६ का फुमी केसीले जिते भने बेस्ट किपरको उपाधि पनि वडा नम्बर ६ कै सौगात खत्रीले प्राप्त गरे। यस्तै, हाइ स्कोररको पुरस्कार रोहन शाही र सुजल राजबाहकले पाएका छन्। उनीहरूले प्रतियोगितामा समान २–२ गोल गरेका थिए।

प्रतियोगिताका विजयी टिम, खेलाडी तथा प्रशिक्षकहरूलाई बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल र वडा नम्बर ९ की कार्यबाहक वडाध्यक्ष मनीषा तामाङले ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितालाई सफल बनाउन स्थानीय निकाय तथा विभिन्न संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। चैत ३ गते सुरु भएको थियो ।

प्रतियोगितालाई सफल बनाउन बनेपा फुटबल एकेडेमी, बनेपा पोलिटेक्निक फुटबल मैदान संरक्षण उपभोक्ता समिति, काभ्रे जिल्ला फुटबल संघ, माउन्ट एभरेस्ट फुटबल क्लब, शिर मेमोरियल अस्पताललगायतका संस्थाहरूले प्राविधिक सहयोग प्रदान गरेका थिए। आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिनेछ।

यस प्रतियोगिताले बनेपाका खेलप्रेमीहरूलाई निकै उत्साहित बनायो। फाइनल खेलमा स्थानीय फुटबलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेल अवधिभर समर्थकहरूले दुवै टिमलाई हौसला प्रदान गरे। खेल अवधिमा भएको रोमाञ्चक क्षणहरूले दर्शकहरूलाई उत्साहित बनाएको थियो ।

बनेपा नगरपालिकाले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा फुटबललाई प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *