‘लहरे बाली आधारभूत व्यावसायिक तालिम’ सम्पन्न


पनौती । सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत देवीस्थान सेवाकेन्द्र र महांकाल सेवाकेन्द्रको संयुक्त व्यवस्थापन तथा कृषि तथा सामाजिक कार्य उप–समितिको आयोजनामा चैत्र १४ र १५ गते दुई दिने “लहरे बाली आधारभूत व्यवसायिक तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिममा सहकारीका सदस्यहरुलाई नगदे वाली उत्पादन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो । तालिममा काक्रों, तितेकरेला र घिरौलाजस्ता लहरेबालीहरुको व्यवसायिक खेती प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम उद्घाटन समारोह पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा कृषि तथा सामाजिक कार्य उपसमितिका संयोजक किसन बहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले कृषकले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा समाज र राष्ट्रलाई सहयोग गरिरहन्छ, कृषि कर्म बिना कसैले पनि जीवनको कल्पना गर्न नसकिने भन्दै किसानलाई सम्मान र ज्ञान दिन कसैले पनि कञ्जुस्यांई गर्न नहुने धारणा राख्नु भएको थियो ।
समारोहमा देवीस्थान सेवाकेन्द्र संयोजक धिरजकुमार काफ्ले तथा महांकाल सेवाकेन्द्र संयोजक कृष्णबहादुर श्रेष्ठले आ– आफ्नो मन्तव्य राखेका थिए ।
तालिम कार्यक्रम पनौती नगरपालिका वडा नं ४ को कार्यालयमा सन्चालन गरिएको थियो । जहाँ ३५ जना सदस्यहरुले सहभागिता जनाएका थिए । २ दिने तालिम प्रशिक्षणमा गणेशकुमार श्रेष्ठ (JTA), यादव सुवेदी (IPM) प्रशिक्षक तथा मोटिभेसनल प्रशिक्षक देव तामाङले बिभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।
संस्थाको सेवा सुविधा, बचत तथा ऋण योजना तथा संस्थाको भावी योजनाबारे जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले प्रस्तुत गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा सहभागी कृषक सदस्यहरुलाई प्रमाणपत्रका साथै सहभागीहरुलाई लहरेबालीको उन्नत जात तथा रैथाने बिऊ समेत वितरण गरिएको थियो । उनीहरुको व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । संस्थाका प्रमुख व्यस्थापक गौतम प्रजापतिले यस्ता कृषिमैत्री तालिमहरु निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।