काभ्रेपलाञ्चोकलाई संसारभर चिनाउन विश्व युवा महोत्सव २०२५ आयोजना गर्दैछौं: दिपक कुमार गौतम


धुलिखेल। विश्व युवा महोत्सव २०२५ नेपालमै पहिलो पटक आयोजना हुँदैछ । काभेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा यही चैत १४ गतेदेखि १८ गते (मार्च २७- ३१, २०२५) सम्म महोत्सव चल्नेछ ।
विश्वभरका १० हजार युवा प्रतिनिधिमाझ ५० भन्दा धेरै अन्तरंग र बहिरंग कार्यक्रमहरू सञ्चालन गरिने आयोजक संस्था जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यक्रममा नेपालबाट मात्र नभएर विश्वभरिबाट १ सय भन्दा धेरै देशबाट युवाहरूको सहभागिता रहने बताइएको छ ।
नेपालको पर्यटन उद्योग प्रवर्धन गर्ने सँगै निराश युवाहरूबिच आशाको सञ्चार गर्दै सम्भावनाको खोजी गर्न कार्यक्रम कोशेढुंगा साबित हुने जिसस काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमले बताएका छन् । एउटा देशको असल अभ्यास अर्को देशले सिक्ने र सिकाउने प्याल्टफर्मको रुपमा समेत कार्यक्रम सहयोगी सिद्ध हुने विश्वास लिइएको छ ।
विश्व युवा महोत्सव २०२५ आयोजना हुँदा यसबाट काभ्रेपलाञ्चोक जिल्ला र नेपालले कसरी लाभ लिन सक्छ ? यस महोत्सवमा सहभागी युवाहरूले केकस्ता लाभ लिन सक्छन् ? लगायतका विषयवस्तुमा कुराकानी गरिएको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा, महोत्सवको संकल्पकर्ता जिसस काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमसँग काभ्रेपोष्ट र यसको अनलाइन संस्करणका लागि संवाददाता बालकृष्ण बजगाँईले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
♦ विश्व युवा महोत्सव २०२५ कहिले र कहाँ आयोजना हुँदैछ?
महोत्सव २०८१ चैतको १४ गतेदेखि १८ गतेसम्म (मार्च २७ देखि ३१) सम्म काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको विभिन्न स्थानमा आयोजना हुनेछ ।
♦ विश्व युवा महोत्सवको उद्देश्य र लक्ष्य बताइदिनुहोस् न?
नेपालमा पहिलोपटक विश्व युवा महोत्सव (World Youth Festival 2025) मा संसारभरिका १०० भन्दा बढी देशका युवा प्रतिनिधिहरूले भाग लिनेछन् । युवा लक्षित विभिन्न २५ वटा विषयवस्तुमा छलफल, सेमिनार लगायतका कार्यक्रम गर्नेछौं ।
नेपालको समस्या नीतिमा हो । नीति अत्यन्त महत्वपूर्ण छ किनभने यसले कुनै देश वा समाजको भविष्यको दिशा निर्धारण गर्दछ ।
अबको नीति कस्तो बन्नुपर्छ? नीति निर्माण कुन हिसाबले गर्नुपर्छ भन्ने हाम्रो प्रमुख प्रयास हो । यहाँको छलफलबाट निस्कने निष्कर्षहरूलाई हामी काभ्रेपलाञ्चोक घोषणापत्र जारी गर्दै नेपाल सरकार र विश्वमै युवाहरूको मुद्धा अघि सार्न संयुक्त राष्ट्रसंघ लगायतका कार्यान्वयन गर्ने निकायमा बुझाउने तयारी छ । महोत्सवको उदेश्य आज नेपालका युवाहरू निराश छन् । निराश युवाहरूलाई आशाको सञ्चार गर्नका लागि गरिएको एक प्रयास हो । हामी विभिन्न देशका युवाहरू जम्मा भएर एउटा देशले गरेको विकास, एउटा देशको असल अभ्यास अर्को देशले सिक्ने र सिकाउने प्याल्टफर्मको रुपमा पनि हामीले यसलाई लिएका छौं ।
♦ विश्वभरिका युवालाई नै समेट्ने भनिएको यो महोत्सव महत्वकांक्षी पो भयो कि?
झट्ट हेर्दा महत्वकांक्षी जस्तो लाग्छ । हामी १ लाख युवाहरूको बिचमा समारोहको उद्घाटन गर्दैछौं । शिक्षा, स्वास्थ्य, युवाहरूको रोजगारी, बेरोजगारी समस्या, आजको सूचना प्रविधि, कृतिम बौद्धिकता (एआई), जलवायु परिवर्तन लगायतका थुप्रै विषयहरूमा छुट्टाछुट्टै छलफल सत्रहरू सञ्चालन गरिनेछ ।
♦ काभ्रेपलाञ्चोकका क्षेत्रहरूलाई विश्वमा चिनाउन के कस्ता कार्यक्रम हुँदैछन् त?
यो एउटा अनुभव आदानप्रदान गर्ने प्लाटफर्मको रुपमा लिन सकिन्छ । यसले हाम्रो देशको विकासका निमित्त र आजका निराश युवाहरूलाई आशाको रक्तसञ्चार महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । यो महोत्सवमा विभिन्न छलफल सत्रसँगै ५० भन्दा धेरै भित्री र बाहिरी कार्यक्रमहरू हुनेछ । खेलकुद, सांगितिक समारोह, सांस्कृतिक कार्यक्रम, पर्यटन, प्रदर्शनीहरू लगायतका कार्यक्रम यसमा समेटिएको छ ।
♦ विदेशी पाहुनाहरूलाई यहाँको समुदायसँग परिचित गराउनु हुन्छ?
हामी आएका स्वदेशी तथा विदेशी पाहुना, प्रतिनिधिहरूलाई समुदायमा लगेर अन्तर्क्रिया गराउने छौं । लोकल उत्पादन र खानेकुरालाई चखाउनेछौं । हाम्रो देशका जिल्लाका विभिन्न सम्पदाहरूमा लैजाने छौं । विभिन्न ठाउँहरू घुमाउने छौं । जसले गर्दा नेपाल पर्यटन आकर्षणको केन्द्र बनोस् भन्ने पनि हाम्रो लक्ष्य रहेको छ । काभ्रेपलाञ्चोक जिल्लालाई देशमा मात्र नभई विश्व सामु चिनाउने हाम्रो प्रयत्न पनि हो ।
♦ विश्व युवा महोत्सवको आयोजना र व्यवस्थापन कसरी भइरहेको छ ?
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित काठमाडौं विश्वविद्यालय परिसर र धुलिखेल हस्पिटलको अडिटरियम हलमा अधिकांश छलफल सत्रहरू हुनेछन् । धेरै कार्यक्रमहरू काठमाडौं विश्वविद्यालय भित्र नै हुनेछन् । चैतको १४ गतेदेखि १८ गतेसम्म (मार्च २७ देखि ३१) सम्म महोत्सव हुनेछ । यहाँ आउनुभएका प्रतिनिधिहरूलाई हामीले धुलिखेल, पनौती, बनेपा, नगरकोटमा व्यवस्थापन गर्नेछौं ।
♦कार्यक्रममा कसरी सहभागि हुन सकिन्छ ?
यहाँ आउने प्रतिनिधिहरूले व्यवस्थापनलाई सजिलो बनाउन रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने हुन्छ । सबै रजिस्ट्रेसन विश्व युवा महोत्सव २०२५ को आधिकारिक वेभसाइटबाट अनलाईन तिर्न मिल्ने व्यवस्था मिलाएका छौं ।
जसमा बास र खानाको प्रबन्ध गर्न ५ दिनको ७,५०० रुपैयाँ तिर्नुपर्नेछ । बेलुकीको बसाई व्यवस्थापन गर्नुपर्दैन भने उहाँहरूले २,५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क तिरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ ।
♦ महोत्सवमा कुन-कुन देशका युवा प्रतिनिधिहरूले सहभागिता जनाउने छन्?
महोत्सवमा १ सयभन्दा बढी देशका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन् ।
♦ महोत्सव सञ्चालन गर्नका लागि आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
प्रतिनिधिहरू मार्फत प्राप्त हुने रजिस्ट्रेसन शुल्क नै मुख्य आम्दानी स्रोत हो । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेशबाट जिल्ला समन्वय समितिलाई प्राप्त हुने सहयोग र केही स्थानीय तहहरूले सहयोग गर्नुभएको छ ।
♦ महोत्सवबाट प्राप्त हुने थप अवसर र लाभ के के छन् ?
विश्वभरिका युवाहरूको जमघट हुने भएकाले पक्कै पनि अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने अवसर प्राप्त हुनेछ । खुल्ला फोरमको ढाँचामा कार्यक्रम सञ्चालन गरिने छ । विश्व भरि नै युवा नेतृत्व विकास गर्ने र युवा नेतृत्वलाई स्थापित गराउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा विश्वस्त छु ।
♦ महोत्सवका चुनौतीहरू र सम्भावित समाधानहरू के के हुन्?
नेपालमा पहिलोपल्ट हुन लागेको यो विश्व युवा महोत्सव २०२५ सम्पन्न गर्न व्यवस्थापकीय पाटो चुनौतीपूर्ण छ । सीमित स्रोत र साधनका बाबजुत हामीले यसलाई सम्पन्न गर्नुपर्नेछ । तर यस चुनौतीलाई अवसरको रुपमा बदलेर हामीले काम गरिरहेका छौं ।
♦ यस्ता महोत्सव/सम्मेलनहरूले दीर्घकालीन रुपमा कस्तो प्रभाव पार्छ?
युवाहरू देश विदेशबाट उत्साहपूर्ण रुपले आउनुहुनेछ । यो वर्षको युथ फेस्टिभलले आगामी दिनमा यस्ता कार्यक्रम गर्नका लागि जगको रुपमा स्थापित हुनेछ । नेपाल आएका युवाहरू फेरिपनि आउन वातावरण बन्नेछ । यसले एउटा वृहत्तर रुप लिनेछ । नेपालका निराश युवाहरू देश छाडेर गइरहेको अवस्थामा संसारभरिका युवाहरू लर्को लागेर नेपाल आउँदा उनीहरूलाई नेपालमै बसेर केही गर्नपर्छ भन्ने कुराको उत्साह, ढाडस र आशा दिने हामीले विश्वास लिएका छौं ।
♦ अन्त्यमा के भन्न चाहनुहुन्छ ?
विश्व युवा महोत्सव २०२५ एउटा व्यक्ति र संस्थाको कार्यक्रम मात्र नभएर समग्र देशको कार्यक्रम हो । यो देश र जिल्लाको प्रतिष्ठासँग जोडिएको विषय हुनाले सबैलाई यसको प्रतिनिधि भएर सहभागि हुन आग्रह छ । महोत्सवको दौरान सञ्चालन हुने छलफल सत्र, खेलकुद, सांस्कृतिक लगायतका कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागि हुन अपिल गर्दछु । सबैलाई सबै हिसाबले सहयोग गर्दै कार्यक्रमलाई सफल एवं प्रभावकारी बनाउनका निमित्त भुमिका खेलिदिनुहुन आग्रह गर्न चाहन्छु । धन्यवाद ।