एबिएम बनेपाद्वारा यात्रु र चालक लक्षित सडक नाटक प्रदर्शनी
बनेपा । आदर्श विद्या मन्दिर विद्यालय बनेपाले जनचेतनामुलक सडक नाटकको आयोजना गरेको छ ।
बिहीबार पनौती रोडस्थित श्रीखण्डपुर चोकमा आयोजित कार्यक्रममा सवारी चलाउँदा होशियार नहुदा हुनसक्ने दुर्घटना र आउनसक्ने समस्याका बारेमा विद्यार्थीहरुले सडक नाटक मार्फत् मनोरञ्जनात्मक प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक प्रमुख बसुन्धरा खड्काले आदर्श स्कूलले समय सान्दर्भिक कार्यक्रमको आयोजना गरेको भन्दै यस्ता कार्यक्रमले सवारी चालकहरुलाई सचेत गराउने बताउनुभयो । उहाँले सडकमा सवारी चलाउँदै गर्दा चालकले धेरै होशियारी अपनाउनु पर्नेमा जोड दिनुभयो । सडकमा सुरक्षामा रहेका ट्राफिक प्रहरी चालकको चिट काट्नका लागि मात्रै खटिएका हुन्छन् भन्ने कतिपयको सोच गलत भएको र यस्ता सुरक्षाकर्मीलाई चालकहरुले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले आफ्नो विद्यालयले जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको र अहिले यसकै निरन्तरता स्वरुप सडक नाटक प्रदर्शन गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले विद्यालयको प्रयास एकदमै अनुकरणीय रहेको र अरु विद्यालयले पनि यस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई संलग्न गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनचेतनामुलक र्याली समेत आयोजना गरिएको थियो । र्यालीमा सहभागी विद्यार्थीहरूले चालक, पैदलयात्री र सबैले सडकमा अपनाउनुपर्ने सावधानी र सुरक्षा सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए ।