प्रथम इन्डो-नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्ट कराँते सुरु

२०८१ फागुन ९ गते २१:४६

♦ अशोकबुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा प्रथम इन्डो-नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्ट कराते २०८१ भव्य रूपमा सुरु भएको छ। प्रतियोगिता संविधानसभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य तिर्थ बहादुर लामाको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
उद्घाटन समारोहमा काभ्रे जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायतका व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए । बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिता उद्घाटन गर्नुभयो।
अनुशासन र आत्मविश्वासका साथ खेल्न आग्रह
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री तिर्थ बहादुर लामाले सहभागी सम्पूर्ण खेलाडीहरूलाई अनुशासनमा रही प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। कराँते खेलले खेलाडीहरूमा नयाँ उत्साह जगाउने भन्दै उहाँले जिल्ला मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी खेल्न अनुरोध गर्नुभयो।
उहाँले कराते खेल शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक अनुशासन, धैर्यता र आत्मविश्वास बढाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो। साथै, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै, प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने भएकाले खेल सफलताको शुभकामना दिनुभयो।

खेलकुद—देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम
विशेष अतिथि तथा जिल्ला समन्वय उपाध्यक्ष रिम बहादुर तामाङले खेलकुदले देश तथा विदेशमा नेपालको पहिचान बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँले खेलकुद राष्ट्रहरूलाई एकआपसमा जोड्ने सेतु पनि भएको विचार व्यक्त गर्नुभयो।
त्यसैगरी, विशेष अतिथि तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रतियोगिता भव्य रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, खेलकुदले व्यक्तिगत अनुशासन र विकासमा महत्त्वपूर्ण योगदान दिने भएकाले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेर आफूलाई स्थापित गर्नुपर्ने सुझाव दिनुभयो।
भारतीय खेलाडीहरूको समेत सहभागिता
प्रतियोगितामा छिमेकी मुलुक भारतबाट पनि खेलाडीहरूको सहभागिता रहेको छ। खेलकुद तथा सामाजिक विकास केन्द्रको आयोजना र रोशी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको यो प्रतियोगिता भोलि सम्पन्न हुनेछ ।
विशेष उपस्थिति र कार्यक्रम सञ्चालन
समारोहमा रोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना, गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष बसन्त तामाङ, विभिन्न वडाका अध्यक्षहरू, खेलप्रेमी, समाजसेवी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा छिमेकी मुलुक भारतबाट सेन्साई नवरञ्जन मोदी, श्रवाणी चटर्जी, कृष्ण घोषाल, अभिन्दिता सेन गुप्ता, सुदीप सान्तिगारी, जय बराट, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।
नेपाल खेलकुद तथा सामाजिक विकास केन्द्र काभ्रेका अध्यक्ष कान्छामान लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ध. क्ष. प. इ. का सचिव सृजना तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया