धुलिखेल अस्पतालमा भारत सरकारको सहयोगमा वार्ड भवन

धुलिखेल । धुलिखेल अस्पतालमा भारत सरकारको सहयोगमा वार्ड भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४ करोड २६ लाख रुपैयाँ आर्थिक सहयोगमा वार्ड भवन निर्माण गरिएको हो । काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

धुलिखेल नगरपालिकाले वार्ड भवन परियोजनाको कार्यान्वयन गरेको हो । यस परियोजनाले सामुदायिक विकास परियोजनामा उच्च प्रभाव पारेको सिंहले बताए । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा निर्मित वार्ड भवन अस्पताललाई आवश्यक रहेको र यससँगै अस्पतालको सुविधा थप भएको सिंहले बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजू, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरूले भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको विकास र सहयोगको प्रशंसा गरेका थिए ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ती मध्ये ४९० वटा परियोजना सम्पन्न गरिसकेको राजदुतावासले जानकारी दिएको छ । काभ्रेपलान्चोक जिल्लामा ७ वटा परियोजना सञ्चालन गरेको र राजदुतावासले १६ थान एम्बुलेन्स र ८ थान विद्यालय बस काभ्रे जिल्लालाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.